किर्तिपुरको ४ वडालाई 'प्लास्टिक व्यवस्थापन भएको समुदाय' घोषणा, सर्कुलर इकोनमी प्रवर्द्धनमा सिआइयूडीको पहल

काठमाडौं। किर्तिपुर नगरपालिकामा सञ्चालित 'प्लास्टिक व्यवस्थापन समुदाय र नदी परियोजना' अन्तर्गत वडा नं. १, २, ३ र ४ का समुदायहरूलाई ‘प्लास्टिक व्यवस्थापन भएका समुदाय’को रूपमा घोषणा गरिएको छ। यो परियोजना सिआइयूडी (Centre for Integrated Urban Development) ले विश्व बैंकको PLEASE परियोजनाको सहायतामा कार्यान्वयन गरेको हो, जसमा SACEP र UNOPS को निगरानी रहेको छ।

परियोजनाको अन्तिम समीक्षा तथा परिणाम सार्वजनिक कार्यक्रम (Final Dissemination Workshop) होटल याक एन्ड यति, काठमाडौंमा अप्रिल २८ मा सम्पन्न भयो। कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो जसमा सरकारी निकाय, निर्वाचित जनप्रतिनिधि, विकास साझेदार, फोहोर व्यवस्थापनमा संलग्न व्यक्ति र प्राज्ञिक क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

कार्यक्रममा सिआइयूडीका कार्यकारी निर्देशक तथा परियोजना प्रमुख श्री नबिन विकास महर्जनले प्लास्टिक फोहोर व्यवस्थापनमा गरिएको नवीन प्रविधिहरू— जस्तै ट्र्यास बुम जडान, प्लास्टिक रिसाइकल तथा अपसाइकल प्लान्ट स्थापनाको विषयमा जानकारी गराए। उनले महिलाको नेतृत्वमा सञ्चालित प्लास्टिक फोहोर आधारित उद्यमशिलताको सफलताको चर्चा गरे।

पुरस्कारस्वरूप 'प्लास्टिक व्यवस्थापन भएको समुदाय'को प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा 'प्लास्टिक केयर' नामक महिला उद्यम समुहकी रामिता राजभाखले आफ्नो अनुभव सुनाउँदै प्लास्टिक रिसाइकल उद्योग स्थापना गर्दा भोगेका चुनौती र भविष्य योजनाबारे जानकारी दिनुभयो।

कार्यक्रमकी प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयकी राज्यमन्त्री माननीय रूपा बि.के.ले सिएयूडीको प्रयासको प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई संघीय, प्रदेश र स्थानीय तहको सहकार्यमा अन्य क्षेत्रमा विस्तार गर्न आग्रह गर्नुभयो 

युएनओपिएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले PLEASE परियोजनाको बारेमा जानकारी दिँदै सिएयूडी लगायतका सहभागिहरूले जल र नदी प्रदूषण न्यूनीकरणमा पुर्‍याएको योगदानको चर्चा गरे।

किर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले परियोजना सफल हुनुमा नगरपालिकाको निरन्तर प्रयास रहेको बताउँदै यो परियोजनाको अन्त्य नभई नयाँ सुरुवात भएको जानकारी दिनुभयो ।

कार्यक्रमको समापनमा किर्तिपुर नगरपालिकाका नगरप्रमुख श्री कृष्ण मान डंगोलले प्लास्टिक रिसाइकल प्लान्ट स्थापना गर्दा देखिएका समस्याहरू र समाधानबारे अनुभव सुनाउँदै किर्तिपुरलाई चाँडै 'प्लास्टिक मुक्त नगरपालिका' बनाउने योजना सार्वजनिक गर्नुभयो।


प्रतिक्रिया