काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मंगलबार आयोजित "संघीय संरचनामा लगानी प्रवद्र्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा" विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहे पनि समग्र वातावरण तयार नभएकाले अपेक्षित प्रतिफल आउन नसकेको बताए।
उनले देश विकासका लागि लगानी प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र समान रूपमा जिम्मेवार बन्नुपर्ने धारणा राखे। "हामी एउटै डुङ्गाका यात्री हौं। डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित हुँदैन। त्यसैले अर्थतन्त्र बलियो बनाउन सबै पक्ष उत्तिकै जिम्मेवार हुनु आवश्यक छ," अध्यक्ष ढकालले भने।
अध्यक्ष ढकालले नेपालको संविधानले संघात्मक शासन प्रणालीमा रुपान्तरण गरे पनि तीनै तहका सरकारहरू सोही अनुरूप सञ्चालन हुन नसकेको बताए। उनले लगानी प्रवद्र्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबीच समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी तथा विकास आयोजनामा देखिने अवरोधहरू प्रमुख चुनौती बनेको उल्लेख गरे।
ढकालका अनुसार लगानी प्रवद्र्धनका लागि प्रशासनिक प्रक्रिया सरल, पारदर्शी हुनुपर्छ, साथै लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक छ। उनले सरकार र निजी क्षेत्रबाट प्रवद्र्धित पूर्वाधार तथा विकास परियोजनाहरू निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।
राजस्व केन्द्रित नीतिका कारण लगानी प्रवद्र्धन प्रभावित, उनले तीनै तहका सरकारहरू राजस्व केन्द्रित हुँदा, व्यवसाय दर्ता तथा नविकरण प्रक्रियामा ढिलाइ हुँदा, तथा औद्योगिक व्यवसाय ऐनमा एकरुपता नहुँदा अपेक्षित लगानी प्रवद्र्धन हुन नसकेको उल्लेख गरे।
निजी क्षेत्रलाई प्रोत्साहित गर्न उनले लगानी आकर्षित गर्न प्रतिस्पर्धात्मक नीति अपनाउनुपर्ने, व्यवसाय दर्ता तथा नविकरणलाई डिजिटल माध्यमबाट सरल बनाउनु पर्ने र नागरिक एपमा व्यवसाय सम्बन्धी सुविधाहरू थप्नुपर्ने सुझाव दिए।
अध्यक्ष ढकालले केन्द्र सरकारले औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिनुपर्ने, घरेलु उद्योगहरूलाई उद्योग वाणिज्य संघहरूसँग समन्वय गरेर सेवा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए।