काठको झ्यालढोका राम्रो कि आल्मुनियम?

काठमाडौँ।  प्रविधिको विकाससँगै आल्मुनियम तथा युपिभिसीले परम्परित काठलाई  विस्थापित गरिरहेका छन्।

पछिल्लो समय निर्माण भएका झन्डै ७० प्रतिशत घरमा आल्मुनियम वा यूपीभीसीका झ्याल–ढोकाको प्रयोग हुने गरेका छन्। 

निर्माणमा लाग्ने समय, आकर्षण र मूल्यका हिसाबले ग्राहकमैत्री भएकै कारण काठको विकल्पमा यी दुई प्रविधिप्रति आकर्षण बढिरहेको छ। यद्यपि आल्मुनियमका र काठका झ्याल ढोका राख्दा गुणस्तर, टिकाउ र किफायती छ भन्ने बारेमा सजग हुन भने आवश्यक छ।

काठको सट्टा आल्मुनियम किन प्रयोग गर्ने?

टिकाउः

काठको तुलनामा आल्मुनियमका सामग्रीहरू बलिया हुन्छन्। आल्मुनियममा काठमा जस्तो  धमिरा लाग्ने, घामपानीले बिग्रने, आकार बाङ्गिने, क्र्याक आउने, आगो चाँडै टिप्ने, जस्ता समस्या हुँदैन। आल्मुनियमको सरदर आयु ४० देखि ४५ वर्षसम्म हुन्छ। काठका झ्यालढोका पनि टिकाउ त हुन्छन् तर काठको प्रयोग र छनौटमा विशेष ध्यान दिनुपर्छ। काठहरूमा साल र सल्लाबाट बनेका झ्याल ढोकालाई कलर र वार्निश लगाइ वाटर प्रुफ बनाएर प्रयोग गरेमा ३० देखि ४० वर्षसम्म टिक्न सक्छन्। 

गुणस्तरः 

आल्मुनियमलाई केमिकल वा चिसो कपडाले सहजै सफा गर्न सकिन्छ। काठको तुलनामा भार कम हुने, किफायती, टिकाउ र बलियो हुने हुँदा आल्मुनियमका झ्यालढोकालाई गुणस्तरीय मान्न सकिन्छ। आल्मुनियम नरम हुने भएकाले जस्तो आकारमा पनि बनाउन सकिन्छ। अर्कोतर्फ नेपाली साललाई काठमध्येको राम्रो र गुणस्तरीय मानिन्छ। काठलाई चाहनाअनुसार बुट्टा कुँदेर आकर्षक रूप दिन सकिन्छ। आल्मुनियम लचिलो हुने भएपनि बुट्टाहरू कुँद्न सम्भव हुँदैन। तर घामपानीबाट जोगाउनुपर्ने भएकाले काठको सरसफाइ र मर्मत सम्भारमा भने विशेष ध्यान दिनुपर्छ। 

मूल्यः

काठ र आल्मुनियमको बजार मूल्य निकै फरक छ। बजार र स्थान अनुसार काठको मूल्य फरक पर्छ। तर आल्मुनियमको मूल्य नेपालभर नै लगभग उस्तै उस्तै हुन्छ। 

अहिले जलवायु परिवर्तनको असर र दिगो वन व्यवस्थापनका कारण घर निर्माणका लागि पर्याप्त काठ भने पाउन मुस्किल नै छ। यसैको विकल्पका रूपमा रङ रोगन गरी काठ जस्तै देखिने भएकाले आल्मुनियमको प्रयोग बढेको पाइन्छ। 

प्रतिक्रिया