काठमाडौँ। प्राकृतिक सौन्दर्यता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो।
जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार ३ सय बढी एकै स्वरूपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो।
पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे। सबैका आँगनको पर्खाल एउटै स्वरूपका ढुङ्गाले उठाइएका हुन्थे। बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए। तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ।
वि.सं. २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो। घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन्। ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा पर्यो।
उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए। परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घलेले बताइन्। ‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो। पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उनले भनिन्।
अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ। ‘‘भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ। आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,’’ घलेले भनिन्।
भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ। अर्का स्थानीयवासी सुकबहादुर गुरुङले भने ‘‘भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि। मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला।’’
भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ। छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन्। थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन्। भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ।
पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए। भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे। अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन। परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको मत छ।
पुनःनिर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका–१, का वडाध्यक्ष धनबहादुर घलेले बताए। ‘‘बाउबाजेले स्थापना गरेको पुरानो डिजाइनको घरहरू जोगाउन सकेनौँ। भूकम्पपछि परिवर्तनसँगै चल्नुपर्छ भन्ने धेरैको कुरा भयो। कतिपयले पुराना चिनारी जोगाउनुपर्छ नभनेका होइनन् तर पुनःनिर्माण गर्दा मौलिक चिनारी बचाउन सकिएन’’, उनले भने।
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन। वडाध्यक्ष घलेले भने, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन्। अब बारपाक परम्परागत बारपाक रहेन। अब सार्वजनिक ठाउँमा संरचना निर्माण गर्दा पुरानै मोडलमा निर्माण गर्ने योजना छ।’’
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताए। ‘‘बारपाकले नयाँ स्वरूप र सुन्दरता पाएको छ, पुराना शैलीका घर नबने पनि पुनः निर्माणले यहाँको सौन्र्दयता बढाएको छ। थुप्रै पर्यटकीय आर्कषणले साँच्चै बारपाक सिँगारिएको छ’’, उनले भने।
बारपाक लाहुरेहरूको गाउँ हो। दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ। बुद्ध हिमालको काखमा समुद्री सतहदेखि ३ हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ।