काठमाडौँ। के तपाईं घर बनाउने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने घरलाई प्लास्टर गर्दा यी कुराहरूमा ध्यान दिन जरूरी छ।
नयाँ होस् वा पुराना, घरहरूमा स साना चिरा देखिनु सामान्य नै मानिन्छ। साना साना चिराहरू घरको लागि हानिकारक हुँदैनन्। तर घर निर्माणका बेला थोरै सावधानी पुर्याइयो भने भित्ता चर्किने समस्याबाट छुटकारा पाउन सकिन्छ भने हेर्दा पनि घर आकर्षित देखिन्छ ।
घरको प्लास्टर गर्दा विशेष ध्यान दिनुपर्छ। प्लास्टर गर्दा कुन रेसियोमा सिमेन्ट बालुवाको मिश्रण बनाउने? धेरैको प्रश्न हुन्छ। वास्तवमा प्लास्टरको रेसियो घरको स्थान अनुसार फरक फरक हुन्छ। सबै स्थानमा एउटै रेसियो प्रयोग मिल्दैन। पर्खालमा गरिने प्लास्टरको रेसियो र ढलानको सतहमा गरिने प्लास्टरको रेसियो अलगै हुन्छ। त्यस्तै विम र कोलममा गरिने रेसियो पनि अलगै हुन्छ।
मुख्य गरि घरको पर्खाल, सिलिङ विम र कोलममा प्लास्टर गरिन्छ। यी तिनै स्थानमा फरक फरक रेसियोमा मसला तयार पार्नुपर्छ।
पहिला कुरा गरौं पर्खालको
इँटाको वाल भित्र र बाहिरको लागि १꞉५ को रेसियोमा मसला तयार गरिन्छ। भन्नाले १ बाटा सिमेन्टको लागि ५ बाटा बालुवाको मिश्रण तयार पार्नुपर्छ। यहाँ जुन भाडोले नापेर सिमेन्ट राखिन्छ, सोही भाँडोले बालुवा नाप्नुपर्छ। यसलाई इकोनोमिकल रेसियो पनि भनिन्छ। तर यहाँ आवश्यकता अनुसार १꞉३ देखि १꞉६ को रेसियो बनाउन सकिन्छ।
जसमा भित्री पर्खालमा १५ एम एम मोटाइ हुनुपर्छ। त्यस्तै बाहीरी वालमा १५ देखि २० एमएम मोटाइ हुनुपर्छ। तर छोटो समयको लागि तयार पारिने भवनको लागी १꞉७.८ को रेसियोमा पनि मिश्रण तयार पार्न सकिन्छ। जस्तै क्याम्प हाउस वा निर्माण सामग्री राख्न बनाइने घर।
सिलिङमा प्लास्टर
सिलिङको सतहमा ६ एमएम मोटाइ हुनुपर्छ। त्यस्तै १꞉३ को रसियोमा सिमेन्ट र बालुवाको मश्रण तयार पार्नु पर्छ। यसलाई इञ्जिनियरिङको भाषामा रिच मोटार भनिन्छ। अन्य स्थानको तुलनामा सिलिङमा प्लास्टर गर्न केही अप्ठ्यारो हुन्छ।
विम र पिलरमा प्लास्टर
पिलर र विममा पनि ह्याकिङ गरेर मात्र प्लास्टर गर्नुपर्छ। मसला भने १꞉३ वा १꞉४ को रेसियोमा बनाउन सकिन्छ।
प्लास्टर गर्दा हुने गल्ती
सामान्यतया गाउँघरतिर पटक पटक मसला बनाउन गाह्रो हुने मानेर एकै पटर मसला बनाइन्छ। र दिनभरी एक वा २ जनाले काम गरिरहेका हुन्छन्। मसला सुख्खा भए त्यसैमा पनी राखेर ठिक्क हुनेगरि तयार पारिन्छ। तर त्यसो गर्नु भने हुँदैन।
एक पटक बनाएको मसला १ देखि २ घण्टभित्र प्रयोग गरिसक्नुपर्छ। एक पटक मसला सुकेपछि सिमेन्टले बोण्डिङ क्षमता गुमाइसकेको हुन्छ। त्यसमा फेरी पानी हालेर मसला बनाउनाले सिमेन्टले काम गर्दैन। निर्माण लामो समय टिक्दैन। छिटै प्लास्टर चर्किने, उप्किने समस्या आउँछ।
माटोको सतहमा सिमेन्ट बालुवाको मिश्रण बनाउनु हुँदैन। मसलामा राखेको पानी माटोले सोस्छ साथै माटो मसलामा मिसिन जान्छ। जसले निर्माण कमजोर बनाउँछ।
प्लास्टर गर्दा ध्यान दिनुपर्ने कुराहरू
प्लास्टरमा पिपिसी सिमेन्ट मात्र प्रयोग गर्नुपर्छ। मसलामा प्रयोग हुने सिमेन्ट बालुवा मात्र होइन, पानी पनि सफा हुनुपर्छ। बालुवा र पानीमा माटो मिसिएको हुँनु हुँदैन। बालुवा धेरै मसिनो पनि हुँनु हुँदैन। त्यस्तै प्लास्टर गरिने भित्ता राम्ररी क्युरिङ गरिएको हुनुपर्छ।
भिजेको इँटामा सिमेन्ट बालुवाको मिश्रणले राम्रो मजबुती पाउँछ। इँटाले पानी सोस्न छोडेपछि मात्र प्लास्टर गर्नुपर्छ।
कंक्रिट सतहमा प्लास्टर गर्दा सुरूमा ह्याकिङ गर्नुपर्छ। ढलानको सतहमा प्लास्टर राम्ररी बसोस् भनेर बनाइने ससाना खाल्डोलाइ ह्याकिङ भनिन्छ। चिल्लो सतहमा प्लास्टर गर्नु हुँदैन। बस्दैन। त्यसपछि पातलो सिमेन्टको घोल छ्यापेर मसला लगाउँदा मसला राम्रोसँग बस्छ।
सबै ठाउँमा प्लास्टर गरिसकेपछि ७ देखि १० दिनसम्म दिनको ३ पटक क्युरिङ अर्थात पानी हाल्नु पर्छ। पानीले भिजाइराख्नाले सिमेन्टले राम्रोसँग मजबुती पाउँछ। र पछि चर्किने सम्भावना पनि न्यून हुन्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar