नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको अध्यक्षमा कुमार विश्वकर्मा चयन

धादिङबेसी । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङको प्रथम अधिवेशनले कुमार विश्वकर्मालाई अध्यक्षमा चयन गरेको छ। धादिङबेसीमा सम्पन्न अधिवेशनले कुशुम सुनचाँदी पसल, धादिङका प्रोप्राइटर विश्वकर्माको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

संघले जिल्लाका सुनचाँदी शिल्प व्यवसायीहरूको हकहितको संरक्षण, व्यवसाय प्रवर्धन, तथा सरकारी नीतिनियमहरू अनुकूल बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा ईश्वर बराइली, सचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीत बहादुर विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा प्रतिमा विश्वकर्मा, विशाल विश्वकर्मा, र राजकुमार विश्वकर्मा रहनुभएको छ।

नव निर्वाचित अध्यक्ष कुमार विश्वकर्माले व्यवसायीहरूको समस्या समाधान गर्दै धादिङ जिल्लाको सुनचाँदी उद्योगलाई आधुनिकीकरण गर्न संघ क्रियाशील रहने बताउनुभयो। उहाँले बैंकिङ पहुँच, व्यवसाय सुरक्षा, तथा प्राविधिक तालिमको अवसर बढाउँदै संघलाई थप सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा व्यवसायी, उद्योगी, तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संघले सुनचाँदी व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै राज्यसँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ।

प्रतिक्रिया