घर बनाउने सोचमा हुनुहुन्छ? यसरी बनाउनुहोस् बलियो घर

काठमाडौँ। के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि बनाउँदै हुनुहुन्छ भने घरलाई कसरी सुरक्षित, सहज र टिकाउ बनाउने भन्ने बारे सोचिरहनु भएको छ होला।

नेपालमा २०७२ सालमा गएको भूकम्पमा हजारौँ मानिसहरूले कमजोर र मापदण्ड पूरा नगरी बनाइएको घर/संरचनामा परेर ज्यान गुमाउनु परेको थियो। 

भूकम्पका कारण हुने क्षति शून्य पार्न मानिसका लागि असम्भव कुरा हो तर विभिन्न संरचना र घर निर्माणको क्रममा सावधानी पुर्‍याउनाले भूकम्पबाट हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले भविष्यमा आउन सक्ने भूकम्पको मानवीय क्षति न्यूनीकरण गर्नका लागि सबैले भूकम्प प्रतिरोधात्मक घर बनाउन आवश्यक छ।

भूकम्प प्रतिरोधी घर भन्नाले केही हदसम्मको भूकम्पको झट्कालाई सहन सक्ने क्षमता भएको घरलाई बुझिन्छ। भूकम्प प्रतिरोधी घर भूकम्प आएको समयमा पनि धेरै समयसम्म नढली अडिन सक्छ। यसले गर्दा सो घर भित्रका मानिसहरूको ज्यान बाच्न सक्छ।

तपाईँको घर भूकम्प प्रतिरोधी छ या छैन?

घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि घर निर्माण क्रममा नै विभिन्न कुराहरूलाई ध्यान दिएर बनाइएको हुनुपर्छ। यदि तपाई नयाँ घर बनाउँदै हुनुहुन्छ भने सो घर भूकम्प प्रतिरोधी बनाउनुको अर्को कुनै विकल्प नै छैन। पुराना घर र भूकम्प प्रतिरोधी नभएका घरहरू पनि सही मर्मत र पुनर्निर्माणबाट भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। भूकम्प प्रतिरोधी घर बनाउनका लागि निम्न कुराहरू ख्याल गर्नुपर्छ।

स्थान छनौट

घर बनाउने स्थान र सतहले घरको भूकम्प प्रतिरोधी क्षमतालाई असर गरिरहेको हुन्छ। त्यसैले घर बनाउनु अगाडी नै राम्रो स्थान छनौट गरी त्यहीँ घर बनाउनु अति उचित हुन्छ। घर बनाउनको लागि सकेसम्म समतल, कडा चट्टान भएको, नदीबाट टाढा र दलदल नभएको स्थान नै छनौट गर्नुपर्छ। भिरालो, पाँगो, कालो माटो भएको, ढुङ्गा खस्ने, ठुला ठुला खाल्डा भएको ठाउँहरूमा घर बनाउनु राम्रो हुँदैन। सकेसम्म त चौडा बाटो भएको र खुला चौर नजिकैको स्थानमा घर बनाउनु राम्रो हुन्छ।

घरको आकार

भूकम्प प्रतिरोधात्मक घर बनाउँदा घरको बनोटको र आकारको विशेष ध्यान दिनुपर्छ। घरको आकार सकेसम्म वर्गाकार, आयातकार र गोलाकार हुनुपर्छ भने अनियमित आकारहरूको घर चाहिँ बनाउनु हुँदैन। वर्गाकार, आयातकार र गोलाकार संरचना भूकम्पको समयमा पनि डटेर बसिरहन सक्छ। यसका साथै घरको लम्बाइ र उचाइ, घरको चौडाइको ३ गुणाभन्दा बढी हुनुहुँदैन भने कोठाको अधिकतम लम्बाइ १५ फिटभन्दा बढी हुनु हुँदैन। यी कुराहरू घर बनाउनु अगाडि नै निर्धारित गरेर मात्र घर बनाउनु पर्छ।

जग र डी.पी.सी. लेभल

जग नै बलियो नभए घर बलियो हुँदैन। जगको साइज र गहिराइ चाहिँ घर कति अग्लो बनाउने त्यसमा भर पर्छ। घरको सम्पूर्ण जगहरू एकै लेभलमा राख्नुपर्छ र सबै पिलरहरूका जगमा हात्तीपाइले ढलान गर्नु पर्छ। हात्तीपाइलेको जाली घरको पिलर र बिममा कम्तीमा १२ एमएमको छड  र रिङको लागि कम्तीमा ५ एमएमको छड प्रयोग गर्नुपर्छ। डी.पी.सी. लेभल भने पुरानो जमिनको सतहभन्दा कम्तीमा १.५ फिट माथि हुनुपर्छ र कम्तीमा ९ इन्च देखि १२ इन्च साइजका टाई विम राख्नुपर्छ। घरको सम्पूर्ण पिलरहरूलाई यो लेभलमा आर.सी.सी. ढलान टाई विमले जोड्नुपर्छ।

पिलर तथा बिम

पिलर र बिमहरुमा नै घर पुरै अडिएको हुन्छ। पिलर कमजोर भएका घरहरू भूकम्प आउँदा सजिलै ढल्छ। पिलरहरूको दूरीको आधारमा पिलरको साइज निर्धारण हुने भए पनि, सो पिलर १२/१२ इन्चको भन्दा सानो हुनुहुँदैन। पिलरको चौडाइ बिमको भन्दा कम्तमिा ३ इन्चले बढी हुनु पर्छ। बिममा सम्पूर्ण छडहरू पिलरभित्रबाट जानु पर्छ भने बिमका अन्त्यमा छड पिलर भित्री आकारमा राखिनु पर्छ। पिलर वा बिमका डन्डीहरू गाँस्दा कम्तीमा छडको मोटाइको ६० गुणा खप्टिने गरी गाँस्नुपर्छ।

भित्ता, ढोका र झ्याल

घरका सम्पूर्ण भित्ताहरू इट्टाको ९ इन्च गारोले र भित्री भित्ताहरू कम्तीमा ४ इन्च गारोले बनाउनुपर्छ। ९ इन्चको गारोको लागि मसला १ भाग सिमेन्ट र ६ भाग बालुवा हुनुपर्छ र ४ इन्चको गारोको लागि १ भाग सिमेन्ट र ४ भाग बालुवा हुनुपर्छ। एक दिनमा ५ फिटभन्दा अग्लो गारो लगाउनु हुँदैन र मसला बनाएको डेढ घण्टा सम्ममा प्रयोग गरिसक्नु पर्छ। झ्याल र ढोकाहरू बिचको दूरी कम्तीमा पनि २ फिटको हुनुपर्छ। सकेसम्म घरका प्रत्येक तलामा ढोका र झ्यालहरू एक स्थानमा हुनुपर्छ। सबै ढोकाहरू बाहिरी पट्टि खोल्न मिल्ने गरी निर्माण गर्नुपर्छ। ढोका र झ्यालहरूमा सिसाको कम प्रयोग गर्नुपर्छ र सिसाको प्रयोग भएको खण्डमा प्लास्टिक लेमिनेशन लगाउनु पर्छ।

छत र स्वल्याब

छतको मोटाइ ४ इन्चभन्दा माथि नै हुनुपर्छ। ढलान गर्ने बेलामा बिम र स्वल्याब एकै पटक ढलान गर्नु पर्छ। छतमा डबल जालीका लागि ५ एमएमको डन्डी ६ इन्चको दूरीमा राख्नुपर्छ। ढलानलाई राम्रो सँग खाँद्नका लागि भाईब्रेटरको प्रयोग गर्न सकिन्छ। ढलान गरेको २४ घण्टा पछि कम्तीमा १४ दिन पानीले भिजाउनु पर्छ।

ढलान मसला र निर्माण सामाग्री

ढलान मसलाको भाग १ः१.५ः३ हुनु पर्छ, अर्थात् १ भाग सिमेन्टमा, १.५ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनु पर्छ। एक बोरा सिमेन्टको लागि २० लिटर जति पानी आवश्यक पर्छ। मसला बनाउन मिक्सर मेसिनको प्रयोग गर्नु पर्ने हुन्छ जुन मेसिनमा मसला कम्तीमा २ मिनेटसम्म घोल्नु पर्ने हुन्छ। ढलानका लागि उच्चस्तरीय सिमेन्ट र दानादार, खस्रो बालुवा, कडा खस्रो गिट्टी र खिया नलागेको बङ्ग्याउँदा नभाँचिने छडको प्रयोग गर्नुपर्छ। चिल्लो सतह भएको इट्टा प्रयोग गर्नु राम्रो हुन्छ र इट्टा राम्रोसँग पाकेको छ छैन चेक जाँच गर्नुपर्छ। राम्रो इट्टा ३ फिटको उचाइबाट खसाल्दा पनि फुट्दैन। ढलानका लागि भने सफा पानीको प्रयोग गर्नुपर्छ।

ब्यान्डको प्रयोग

घर संरचनामा ब्यान्ड भन्नाले कंक्रटि र रडको मोटो र बलियो प्लेटलाई बुझिन्छ। यो ब्यान्ड घरको पर्खाल र छतमा फिट गर्नाले घर बलियो हुन्छ। यो ब्यान्ड घरको पर्खाल र छतको सबै तिर एकनासले हालिन्छ। छतमा हाल्ने ब्यान्डलाई छत ब्यान्ड अर्थात् रुफ ब्यान्ड भनिन्छ। पर्खालमा हाल्ने ब्यान्डलाई लिंटेल ब्यान्ड भनिन्छ। घरको तल्लो भागमा हाल्ने ब्यान्डलाई प्लिन्थ ब्यान्ड भनिन्छ।

रेट्रोफिटिंग

रेट्रोफिटिंग भन्नाले एक यस्तो संरचना बनाउने वैज्ञानिक तरिकालाई बुझिन्छ जसले गर्दा घरका सबै भागहरू एक आपसमा राम्रो सँग मिलेको हुन्छन्। रेट्रोफिटिंग घरको कुनाहरू बलियो बनाउन, पर्खाललाई बलियो बनाउन, छत ट्रसको पर्खालहरूसँग जोड्न र पर्खालको खुला भागहरूलाई रडले घेर्न प्रयोग गरिन्छ। रेट्रोफिटिंग घरलाई भूकम्प प्रतिरोधात्मक बनाउने सबैभन्दा सस्तो र सरल तरिका हो।

प्रतिक्रिया