काठमाडौँ। प्रायजसो मानिसहरू घर बनाउँने सोचमा हुन्छन् तर घर बनाउने काम सुरू गर्नुअघि कसलाई भेट्ने भन्ने कुराले दुविधामा परेको देखिन्छ।
कतिपयले सबैभन्दा पहिला ठेकेदार कम्पनी खोज्छन् र त्यो ठेकेदारले आर्किटेक इन्जिनियरसँग भेट गराइदिन्छ। जसले घरको नक्सा मात्र बनाइदिन्छ। मान्छेहरू सोही नक्साको आधारमा घर बनाउन तम्सिन्छन्, तयार भएका हुन्छन् त्यो सरासर जुन गलत हो।
घर बनाउनुअघि सबैभन्दा पहिला त राम्रो आर्किटेक इन्जिनियर खोज्नुपर्छ। आजभोलि आर्किटेक्चर कन्सल्ट्यान्सी जहीँतहीँ पाउन सकिन्छ। सुरूमा आर्किटेक्चर फर्ममा जानुपर्छ र त्यहाँ घर बनाउँदा सिभिल र आर्किटेक्चरका पक्षमा ध्यान दिनुपर्ने कुराहरू बारे परामर्श दिइन्छ।
व्यावसायिक आर्किटेक्चर कन्सल्ट्यान्सीले सबैभन्दा पहिला उपभोक्ताको आवश्यकता राम्रोसँग बुझ्ने प्रयास गर्छन्। कति तला र कस्तो घर बनाउन खोजिएको हो भनेर जानकारी लिन्छन् र सोही अनुरूप उपभोक्ताको अपेक्षा पूरा गर्ने गरी घरको डिजाइन तयार पारिदिन्छन्।
राम्रो कन्सल्ट्यान्सीमा परामर्श लिएर घर बनाउनउँदा पछि पछुताउनु पर्दैन। घर बनाउँदा नक्सा र डिजाइनको काम सबैभन्दा महत्वपूर्ण हो भनेर बुझ्नु जरूरी छ।
अहिलेको ट्रेन्ड
हिजोआज मान्छेहरू नगरपालिकामा गएर घरको नक्साबारे बुझ्छन्। त्यहाँ कार्यरत कर्मचारीको बाहिर आफ्नै कन्सल्ट्यान्सी हुन्छ। सेवाग्राहीले कहाँ गएर नक्सा बनाउने भनेपछि इन्जिनियरले ‘फलानो कन्सल्ट्यान्सीमा जाऊ’ भनेर सिफारिस गर्ने गर्छन्। केही कुरा नबुेका सेवाग्राही नगरपालिकाका इन्जिनियरको सिफारिसतिर लाग्छन्।
त्यहाँका इन्जिनियरले नक्सा मात्र बनाएर दिन्छन्। नक्सा मात्र बनाएर घरको डिटेल प्रोजेक्ट रिपोर्ट ९डीपीआर० तयार हुँदैन। घरको नक्सा र डिजाइनको काम गर्नु पनि एक किमिसको डीपीआर नै हो।
नक्सा मात्र बनाउँदा सेवाग्राहीलाई थाहा हुँदैन कि यो नक्सामा कोरेको घर बनाउन कति खर्च लाग्छ? कतिपय सेवाग्राहीले आर्किटेक इन्जिनियरलाई ४ आना जग्गामा ४ कोठाको घरको नक्सा बनाइदिनुस् भन्छन्। इन्जिनियरले आफू खुशी ढंगले पुरानै ढर्राको नक्सा बनाएर दिन्छन्। नयाँ सिर्जना गर्नु पनि कठिन काम हो। सेवाग्राहीले नखोजेपछि इज्जिनियरले उसको अपेक्षा सोध्ने प्रयास गर्दैनन्। इन्जिनियरले बनाइदिएको सोही नक्साका आधारमा अहिले घर बनाइरहेको देखिन्छ।
अझ धेरै सेवाग्राहीले त नगरपालिकामा नक्सा पास गर्न सजिलो हुन्छ भनेर नगरपालिकाकै इन्जिनियरले सिफारिस गरेको आर्किटेक फर्ममा पुग्ने गरेको पनि देखिन्छ। बाहिरबाट नक्सा बनाएर लैजाँदा नगरपालिकामा दुःख दिने सेवाग्राहीको ठहर छ। त्यहाँका इन्जिनियरले पुरानै टिपिकल डिजाइनको नक्सालाई कपी गरेर दिन्छन्। आफ्नो कन्सल्ट्यान्सीबाट बनाएको हुनाले नक्सा पनि बिनाझन्झट सजिलै स्वीकृत गरिदिन्छन्। यस्तो गर्नु चाँही गलत अभ्यास हो।
सेवाग्राहीको आवश्यकता बुझेर नक्सा कोरियो भने मान्छेले चाहेकै घरको डिजाइन तयार पर्न सकिन्छ।
के गर्नुपर्छ?
आफूले सोचेको जस्तो घर बनाउन अर्थात आफ्नो सपनाको घर बनाउन सबैभन्दा पहिला राम्रो आर्किटेक कन्सल्ट्यान्सी नै खोज्नुपर्छ। पैसा बचाउने चक्करमा ‘कम खर्चमा नक्सा र डिजाइन गर्छु’ भन्यो भने मूर्खता हुन्छ। किनभने, घर बनाउँदा नक्सा र डिजाइनको महत्वपूर्ण भूमिका रहन्छ। जस्तो नक्सा र डिजाइन बनाइएको हुन्छ, घर पनि त्यस्तै बन्ने हो।
आर्किटेक इन्जिनियरलाई भेट्दा आफ्नो आवश्यकता खुलेर बताउनुपर्छ किन की सोहीअनुसार इन्जिनियरले घरको डिजाइन तयार गर्न सहज हुन्छ।
तपाईंको आवश्यकता थाहा पाएपछि आर्किटेक इन्जिनियरले आफ्नो कलाकौशल देखाएर चिटिक्कको घरको डिजाइन तयार पारिदिन्छन्। डिजाइन चित्त नबुझेमा परिवर्तन गर्न सकिन्छ। नक्साको डिजाइन गर्दा बिर्सन नहुने कुरा भनेको घर भूकम्प प्रतिरोधात्मक बन्छ कि बन्दैन भन्ने हो।
मापदण्ड पालना गर्नुपर्छ
अहिले नगरपालिकाहरूले आफ्नो नगर क्षेत्रभित्र घर बनाउन आ–आफ्नै मापदण्ड बनाएका हुन्छन्। सोही मापदण्ड पालना गरी घर बनाउनुपर्ने हुन्छ। मापदण्डभन्दा फरक घरको डिजाइन र नक्सा स्वीकृत हुँदैन।
कतिपय अवस्थामा उपभोक्ताको अपेक्षा र भवन निर्माणको मापदण्डले मेल नखान पनि सक्छ। जग्गा कस्तो र कति छ भन्ने कुराले पनि घर बनाउने कुरालाई निर्धारण गर्न सक्छ। लामो लिभिङ रूम चाहिन सक्छ वा लिभिङ रूमको उचाइँ दुई तलाको बनाउँछु भन्न सक्नुहुन्छ। पिल्लर र बिमको साइज बढाएर पनि उपभोक्ताको आवश्यकता अनुसारको बलियो घर बनाउन सकिन्छ।
नगरपालिकाका इन्जिनियरले मापदण्डभित्र रहेर काम गर्छन्। त्यो भएपछि उनीहरूलाई ‘एक्स्ट्रा स्ट्रक्चर एनलाइसिस’ गरिरहन पर्दैन।
लागत पहिल्यै थाहा हुनुपर्छ
अहिलेको चलन नक्सा बनाएर घर बनाउन थालिहाल्ने छ। तर, नक्सा र डिजाइन तयार पार्दा लागत पनि आंकलन गर्नुपर्छ। घर बनाउँदा कस्तो निर्माण सामग्री प्रयोग गर्ने पहिले स्पष्ट हुनुपर्छ। त्यो सामग्री प्रयोग गर्दा कति खर्च लाग्छ? घरको लागत कसरी कम गर्न सकिन्छ। आफ्नो बजेटभित्र रहेर घर बनाउँदा आफ्ना आवश्यकता अटाउँछन् कि अटाउँदैनन्? यी सबै कुरा पहिले नै थाहा पाउनुपर्छ ।
कहिलेकाहीँ नक्साको आधारमा घर बनाउँदा आपूmसँग भएको पैसाले संरचना तयार गर्न पुग्ने तर फिनिसिङ गर्दा पैसा नपुग्ने पनि हुन सक्छ। खर्चबारे थाहा नहुँदा लगानी धेरै बढ्न पनि सक्छ वा फिनिसिङमा सम्झौता गर्नुपर्ने हुन्छ। त्यसैले घरको डिजाइनसँगै उक्त घर तयार पार्न कति खर्च लाग्छ भन्ने बारे पूर्ण जानकारी लिनुपर्दछ।
नक्सा, स्ट्रक्चर, स्टिमेट र थ्रीडी डिजाइन
आर्किटेक्चर र सिभिल इन्जिनियरिङ सुविधा एकै ठाउँमा पाइने कन्सल्ट्यान्सीमा जाँदा फाइदा हुन्छ। आर्किटेक्ट र सिभिल इन्जिनियरले नक्सा र डिजाइनको काम गर्दा घरको लागत निस्किन्छ। घरको नक्सा तयार भएपछि उपभोक्ताले भनेजस्तो घर बन्छ कि बन्दैन भनेर हेर्न थ्रीडी आकृति बनाउन लगाउनुपर्छ। आफ्नो घर यस्तो बन्छ भनेर पहिल्यै थाहा हुनुपर्छ।आर्किटेक र सिभिल इञ्जिनियरले तयार पारेको स्टिमेटमा बल्ल ठेकेदार कम्पनी खोज्ने गर्नपर्दछ।
मान्छेले जीवनभर संघर्ष र परिश्रम गरेर कमाएको पैसाबाट घर बनाउने हो। घर बनाउँदा मोटो रकम खर्च हुन्छ तर, घर बनाउँदा नक्सा र डिजाइनमा खर्च गर्न डराउँछन्। सुरूवातमै नक्सा गतिलो बनेन भने घर राम्रो बन्दैन र बलियो पनि नहुन सक्छ।
सकभर आर्किटेक्चरसँगै सिभिल स्ट्रक्चर इन्जिनियरिङ सेवा दिने कन्सल्ट्यान्सी खोज्नुपर्छ। घर बनाउँदा सिभिल र आर्किटेक्चरको बराबर सम्बन्ध हुन्छ। आर्किटेक्चर भनेको डिजाइन र सिभिल भनेको संरचना निर्माण गर्ने हो। सुरूमै सिभिल र आर्किटेक्चरको सेवा चाहिन्छ। सिभिल इन्जिनियरले भूकम्प प्रतिरोधी घर बनाउन कस्तो सामग्री राख्ने र कति लागत लाग्ने भनेर निकाल्छन्।
नक्सा र डिजाइन तयार भइसकेपछि सेवाग्राहीले स्थानीय निकायमा गएर नक्सा पास गर्नुपर्छ।
नयाँ घर निर्माणको लागि नक्सा पास गर्न चाहिने कागजातहरू
जग्गाधनी प्रमाणपत्र (प्रमाणित) प्रतिलिपि
चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
दर्ता प्रमाण पुर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
कित्ता नम्मबर स्पष्ट भएको नापी प्रमाणित नक्सा (ब्लुप्रिन्ट)
पास गरिने नक्साको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाइनर र नक्सावालाको हस्ताक्षरसहित)
डिजाइनरको इजाजतपत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित)
मञ्जुरी लिई बनाउने भएमा नक्सावालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)
जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
नक्सावाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र
वारिस राखी नक्सा पास गर्ने भए वारिसको प्रमाणित प्रतिलिपि ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar