काठमाडौं । नेपालमा बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको उपयोग बढाउने उद्देश्यसहित अष्ट्रेलियन फिनटेक कम्पनी अर्गिरोले बैंकिङ, वित्त र बीमा संस्थान नेपाल लिमिटेड (बिफ़िन्) तथा आर्कबो टेक्नोलोजिजसँग रणनीतिक साझेदारी गरेको छ।
बुधबार आयोजित एक औपचारिक कार्यक्रममा तीन संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा आर्कबो टेक्नोलोजिज्का संस्थापक भुषण राज गिरी, अर्गिरोका अध्यक्ष तथा सीईओ जोन अर्गिरो, तथा बिफ़िनका निर्देशक बिनोद आत्रेयले हस्ताक्षर गरेका छन्।
नेपालमा एआई-समर्थित क्रेडिट व्यवस्थापन प्रणाली लागू हुने, यस साझेदारीमार्फत नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई एआई-समर्थित क्रेडिट व्यवस्थापन समाधान उपलब्ध गराइनेछ। उक्त प्रविधिले डिजिटल ऋण प्रक्रिया, जोखिम व्यवस्थापन, वित्तीय बुद्धिमत्ता र कार्यप्रवाह स्वचालनलाई प्रभावकारी बनाउने बताइएको छ।
अर्गिरोका सीईओ जोन अर्गिरोले आर्कबो टेक्नोलोजिज् र बिफ़िनसँगको सहकार्यले नेपालका वित्तीय संस्थाहरूलाई विश्वस्तरीय क्रेडिट व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्न मद्दत गर्ने बताए। उनका अनुसार, अष्ट्रेलियामा सफलतापूर्वक लागू भइसकेको प्रविधि नेपालमा पनि प्रभावकारी बन्नेछ।
बिफ़िनका निर्देशक बिनोद आत्रेयले नेपालमा वित्तीय क्षेत्रमा डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै, अर्गिरोसँगको सहकार्यले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्दै जोखिम व्यवस्थापन सुधार्ने बताए।
आर्कबो टेक्नोलोजिज्का संस्थापक भुषण राज गिरीका अनुसार, आर्कबो टेक्नोलोजिज्ले डिजिटल परिवर्तनको अभियानलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ। यसले स्थानीय व्यवसायहरूलाई प्रविधिमा सशक्त पार्दै, कार्यसम्पादनलाई दक्ष बनाउने र व्यवसायिक क्षमता वृद्धि गर्ने विश्वास लिइएको छ।
सहकार्यका मुख्य फाइदाहरू
डिजिटल ऋण प्रक्रिया: बैंक तथा वित्तीय संस्थाहरूका लागि ऋण वितरण प्रक्रिया स्वचालित हुनेछ।
जोखिम व्यवस्थापन: एआई-समर्थित प्रविधि प्रयोग गरी क्रेडिट जोखिमको सही मूल्यांकन गर्न सकिनेछ।
वित्तीय साक्षरता र तालिम: बिफ़िनमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई वित्तीय प्रविधिमा प्रशिक्षित गरिनेछ।
वैश्विक प्रतिस्पर्धा: नेपालका वित्तीय संस्थाहरूलाई विश्वस्तरीय प्रविधिसँग प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ।
यसले नेपालको वित्तीय क्षेत्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै दिगो आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ।