पुष २१, काठमाडौं । राजतन्त्र र गणतान्त्रिक व्यवस्थामा कुन उचित ? पछिल्लो समय नेपाली समाजमा विकसित र विद्यमान बन्दै गएको एउटा मुख्य प्रश्न हो । राजतन्त्रमा राजा र गणतन्त्रमा राष्ट्रपति राष्ट्र प्रमुखको अस्थित्वमा रहने हुनाले सँगसँगै राजा कि राष्ट्रपति ? भन्ने प्रश्नसमेत उठ्नु पनि स्वभाविक हो ।
गणतन्त्रमा जनतामाथि उद्धार र स्वतन्त्रमुलक शासन व्यवस्थाको परिकल्पना गरिन्छ । र, राजतन्त्रमाथि भने सँधै एकतान्त्रिक र निरङ्कुस साशनव्यवस्था भन्ने आरोप मात्रै लाग्छ । जनतासामु राजतन्त्र कि गणतन्त्र ? भन्दै विकल्प प्रस्तुत गरिएपनि इतिहास र विगत हेर्दा नेपालमा राजतन्त्र र गणतन्त्र दुवैलाई उन्नत मान्न सकिने अवस्था देखिँदैन ।
यी दुवै व्यवस्थाको स्वाद र शासनप्रति पनि नेपाली जनता अनविज्ञ छैनन् । पन्चायतकालीन शासन र त्यो बेलाको अतिवादी पात्रहरुले गरेको कुकर्मप्रति पनि जनता अभ्यस्त नै छन् । हालको गणतान्त्रिक व्यवस्थामाथिको अवगुण, दलीय तथा संसदीय विक्रितिहरु पनि जनताहरुले राम्रोरी नै बुझिसके । गणतान्त्रिक शासन व्यवस्थामा जनताकै छोरा शासक बन्ने सुविधा छ । तर जनताबाटै बनेका दल तथा त्यसका पात्रहरुले नेतृत्व गनुकै उपजको रुपमा आज भ्रष्ट्रचार, महंगी, अभाव तथा बेरोजगारीको समस्या पहाड बनेर उभिएको छ ।
दल तथा दलिय व्यवस्थामा शासन गर्ने कुपात्रहरुको बेइमानीबाट सिर्जित संकटको फाइदा उठाउँदै अहिले पूर्वराजा ज्ञानेन्द्र शाह ढलिसकेको राजतन्त्रको अस्थित्व उजागर गर्न जोडतोडले बल लगइरहेका छन् ।
बिगतमा बेलाबखत औपचारिकताका लागि मात्रै बक्तव्य जारी गर्ने पूर्वराजा शाह आजभोली बाक्लै कार्यक्रम गर्दै हिँडिरहेका छन् । बढ्दो नागरिक समर्थनबाट हौसिएका उनले बिहीबार मात्रै रुपन्देहीको भैरहवाबाट जनताहरुलाई सम्बोधन गरे । गत पुस ८ गते बाटै भैरहवामा रहेका शाह होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको सुखदुख र मुलुकको पछिल्लो अवस्थाबारे नजिकबाट नियालीरहेको प्रष्टसमेत पारे । समाज कानून र व्यवस्थाविनाको अस्थित्वमा रहनु नहुने बताउँदै उनले आफू देश र जनताका लागि नेपालमै रहेको भन्दै जनतालाई चिढ्याउने प्रयाससमेत गरे । पटक–पटक राजतन्त्रको नेतृत्वसमेत गरेका पूर्वराजा ज्ञानेन्द्रले २०६२\६३ को जनआन्दोलनपछि जनतासामु घुडा टेके । तर वर्तमान व्यवथामा विकसित भइरहेका विक्रिति र विसंगतिहरुको फाइदा लिँदै पूर्वराजा ज्ञानेन्द्र राजतन्त्र पुनरबहालीको प्रयासमा जुटिरहेका छन् ।
यता राष्ट्रपति रामचन्द्र पौडेल पनि आफ्नो कालमा व्यवस्थाप्रति कुनै आँच आउन नदिने दावी गर्दै आएका छन् । उनै राष्ट्रपति रामचन्द्र पौडेल आज रुपन्देहीकै बुटवल पुगे । तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवलको जितगढी किल्लाको अवलोकनमा उनी पुगेका हुन् । जुन ठाउँ साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग सम्बन्धित छ ।
मुलुकको अस्थित्व जोगाउनेमा होडबाजी गरिरहेका वर्तमान राष्ट्रपति पौडेल र पूर्वराजा ज्ञानेन्द्र एक दिनकै फरकमा रुपन्देही पुगेको देखिन्छ । गणतन्त्र र राजतन्त्र दुवै व्यवस्थाका मुख्य दुई पात्र पूर्वराजा ज्ञानेन्द्र एक दिन अघि र एक दिन पछि राष्ट्रपति रामचन्द्र पौडेल रुपन्देही पुग्नु संयोग मात्रै हो । तर मुलुकलाई खोक्रो र दुरगतिमा पुर्याउन पनि अघि राजा र पछि–पछि राष्ट्रपतिको महत्वपूर्ण हात छ । राजतन्त्रमा निरङ्कुश र एकतन्त्रिय व्यवस्थाले मुलुक निमोटियो । अहिले गणतन्त्रमा नेताहरुको मनोमानी र स्वार्थले मुलुक निमोटिएको छ ।
त्यसैले मुलुकको विकासमा व्यवस्थापरक भन्दा पनि व्यवस्थाका शासकको चरित्रपरक भूमिकाले प्रभाव पार्ने निश्कर्ष निकाल्न सकिन्छ । नागरिकहरुलाई कुन व्यवस्था उचित, कुन बेठिक भन्ने प्रश्न गर्नु अघि नेताहरुले हामीले कतिसम्म गर्यौँ र कतिसम्म गर्नसकेनौँ भनेर स्वमूल्याङ्कन गर्न जरुरी छ ।
आफ्नो भूमिकामाथिको असफलता र चरित्रमा दाग नदेख्ने नेताहरुले यो तन्त्र उचित र त्यो खराब भन्दै टिप्पणी गर्नुभन्दा आफ्नो कार्यशैली सुधारर्दै नागरिक र मुलुकप्रति उत्तरदायी बन्नुपर्ने देखिन्छ । नत्र वर्तमान शासन व्यवस्थामा पनि नेताहरुको चरित्र र कार्यशैली नसुध्रिए राजाले राजगद्धि छाडेजस्तै राष्ट्रपतिले शीतलनिवास छाड्नु नपर्ला भन्न सकिन्न ।
(भिडियो) news 24