सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौँ।  बडादसैँ मनाउन जन्मस्थान अर्थात आफ्नो जिल्ला जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ। 

दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म ३ लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाकारी दिएको छ। कार्यालयका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन्। 

दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ। कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालकहरू बताउँछन्।

प्रतिक्रिया