काठमाडौं। हरेक वर्ष मे २० तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय मानव संसाधन दिवस (International HR Day) यस वर्ष नेपालमा दोस्रो पटक विविध कार्यक्रमको साथ सम्पन्न गरिएको छ। मानव संसाधन समाज नेपाल (Human Resource Society Nepal - HRSN) को आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा १०० भन्दा बढी संघसंस्थाका मानव संसाधन (HR) विज्ञहरू सहभागी भएका थिए।
“HumanifyAI Leading HR Together: Leading in a New Way. Leading in a Digital World” भन्ने नारासहित केएल दुगड ग्रुप अफिस, चारखालबाट सुरु भएको पैदल र्याली बागबजार, स्टार मल, सिटी सेन्टर हुँदै पुनः चारखालमै आएर कोणसभासहित सम्पन्न गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य मानव संसाधन दिवसको उत्सव मनाउनुका साथै विभिन्न संघ–संस्थामा कार्यरत HR पेशाकर्मीहरूलाई एकत्रित गर्दै आपसी एकता, सञ्जाल र उत्साह बढाउनु रहेको आयोजकले जनाएका छन्।
कार्यक्रममा वक्ताहरूले संगठनात्मक सफलतामा मानव संसाधनको योगदान उल्लेखनीय रहेको, डिजिटल युगमा HR को भूमिकालाई अझ प्रभावकारी बनाउन सकिने विषयमा जोड दिए। डिजिटल प्रविधिको प्रयोगद्वारा संस्थागत विकासमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा प्रस्तुत गरियो।
मानव संसाधन समाज नेपाल एक गैर-नाफामूलक संस्था हो, जसको स्थापना सन् २०१३ मा वरिष्ठ HR विज्ञहरूले गरेका थिए। HRSN ले मासिक Knowledge Sharing Session (KSS), तालिम, सीप विकास कार्यक्रम र राष्ट्रिय सम्मेलनजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। यस संस्थाको भारतको NHRDN सँग अन्तर्राष्ट्रिय सहकार्यसमेत रहेको छ।
पछिल्लो समय डिजिटल युगसँग सुसज्जित मानव संसाधन प्रणाली विकास गर्ने दिशामा HR पेशाकर्मीहरूको साझा पहल र योगदानलाई यो कार्यक्रमले थप सशक्त बनाएको छ।