नेपालमा पहिलोपटक कागज उत्पादन उद्योग: आइएमई ग्रुपको लगानीमा नेपाल पल्प एण्ड पेपर सञ्चालनमा

काठमाडौं – नेपालका उद्योग क्षेत्रमा महत्वपूर्ण माइलस्टोन हासिल गर्दै आइएमई ग्रुपले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगर मा नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको औपचारिक उद्घाटन गर्दै स्वदेशी उत्पादन प्रवद्र्धनको नयाँ युगको सुरुवात भएको बताएका छन्।

दैनिक ७५ मेट्रिक टन कागज उत्पादन, आत्मनिर्भरतातर्फ नेपाल | २ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यस उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाईका लागि उपयुक्त कागज उत्पादन गर्नेछ। उद्योगले फोटोकपी पेपर, कापी किताबका लागि कागज उत्पादन सुरु गरिसकेको छ, जसले जनक शिक्षा सामग्री केन्द्रलगायत अन्य संस्थाहरुलाई स्वदेशी उत्पादनको विकल्प उपलब्ध गराउनेछ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ उद्योग सञ्चालनलाई आत्मनिर्भरता, आर्थिक वृद्धि, र दीगो औद्योगिक विकासतर्फको महत्वपूर्ण पाइला बताएका छन्। उनले भने,

“नेपालका उद्योगहरू बन्द हुने र युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने समस्या हटाउन स्वदेशमै उत्पादनमूलक उद्योग खोल्न आवश्यक छ। आइएमई ग्रुपले यस्तै उद्योगमा लगानी गर्दै नेपालमा औद्योगिक नवजागरण ल्याउनेछ।”

उद्योगले ३०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ भने हजारौं अप्रत्यक्ष रोजगारीका अवसरहरू खुला गरेको छ। विशेष गरी ५०% भन्दा बढी स्थानीय बासिन्दा र महिलाहरूलाई रोजगारीमा प्राथमिकता दिइएको छ।

नेपाल सरकारले हालै ल्याएका नयाँ लगानीमैत्री कानुनहरू निजी क्षेत्रका लागि सकारात्मक रहेको अध्यक्ष ढकालले बताए। उनले थपे, “स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालमा काम गर्न अनुकूल वातावरण खोज्छन्। यस्ता ठूला परियोजनाहरू सञ्चालनमा आउँदा नेपालमा लगानीका सम्भावनाहरू राम्रो छन् भन्ने सन्देश जान्छ।”

नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको सफलता सँगै अन्य उत्पादनमूलक उद्योग खोल्ने योजनामा रहेको आइएमई ग्रुपले नेपालमा थप आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादन प्रवद्र्धन गर्न पहल गरिरहेको छ।

नेपालको औद्योगिक क्षेत्रको विकास र आत्मनिर्भरताका लागि यो उद्योग कोसेढुंगा सावित हुनेछ। नेपालमै उत्पादित गुणस्तरीय कागजले फोटोकपी पेपर, कापी किताब, र प्रशासनिक कागजको आयात घटाउनेछ। यस्तो उद्योग विस्तारले नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्‍याउनेछ।

#IMEGroup #NepalIndustry #PaperIndustry #NepalEconomicGrowth #SelfReliantNepal

प्रतिक्रिया