नेपालमै सवारी उत्पादनको सम्भावना, तर चुनौती कायमै

काठमाडौं। नेपालमा सवारी उत्पादनको सम्भावना भए पनि लागत, नीति र बजारका कारण चुनौती कायमै रहेको सरोकारवालाहरूले बताएका छन्। बुधबार मेरोअटोले आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’ अन्तर्गत ‘सवारी उत्पादनको नयाँ गन्तव्य’ सत्रमा वक्ताहरूले नेपालमा सवारी एसेम्बली उद्योगको विस्तार भएसँगै उत्पादनको सम्भावना देखिएको बताएका हुन्।

गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले नेपालमा आफ्नै ब्रान्डको सवारी निर्माण सम्भव रहेको बताए। उनले विगतमा नेपालमा ‘शेर्पा’ नामक गाडी उत्पादन भएको उदाहरण दिँदै भविष्यमा नेपालमै सवारी उत्पादन गर्ने सम्भावना रहेको उल्लेख गरे।

उनले सवारी उत्पादनका लागि पहिलो चरणमा एसेम्बली उद्योग स्थापना गर्नुपर्ने र त्यसपछि एन्सिलरी उद्योग (स्पेयर पार्ट्स उत्पादन) विकास हुने बताए। “भारतमा मारुतीको एसेम्बली सुरू भएको १५ वर्षपछि इकोसिस्टम विकसित भयो। नेपालमा पनि एसेम्बली उद्योगहरू विस्तार भइरहेका छन्, र क्रमशः एन्सिलरी उद्योगहरू बढ्दै गएका छन्। यी दुवै सफल भएपछि भविष्यमा आफ्नै ब्रान्ड बनाउन सकिन्छ,” उनले भने।

नेपालमा हालसम्म ७ वटा एसेम्बली प्लाण्ट स्थापना भइसकेका छन्। हुलास अटोक्राफ्टले पहिलो प्लाण्ट स्थापना गरेपछि अन्य उद्योगहरू पनि स्थापना भएका छन्। हाल नेपालमा बिक्री हुने करिब ९० प्रतिशत मोटरसाइकल यहीँ एसेम्बल हुने गरेको छ।

एउटा एसेम्बली प्लाण्ट स्थापना गर्न ७० देखि १०० करोड रुपैयाँसम्म लागत लाग्ने उनले जानकारी दिए। त्यस्तै, नेपालमै ब्याट्री, टायर, लुब्रिकेन्ट्स लगायतका सामाग्री उत्पादन हुन थालेको बताउँदै उद्योगको विस्तार आवश्यक रहेको बताए।

नेपालमा सवारी उत्पादन सम्भावना रहे पनि उच्च लागतका कारण चुनौती रहेको सरोकारवालाहरूको भनाइ छ। ढुवानी खर्च महँगो हुनु, मजदुरको उत्पादकत्व कम हुनु, जग्गा महँगो हुनु, बिजुलीको उपलब्धता तथा मूल्यजस्ता कारणले उत्पादन लागत महँगो हुने उनीहरूको भनाइ छ।

एसेम्बली उद्योगलाई सरकारले छुट दिएको भए पनि त्यसले दीर्घकालीन लाभ पुर्‍याउनुपर्नेमा उनीहरूले जोड दिए। “एसेम्बलीले रोजगारी सिर्जना गरेको छ, उत्पादन लागतमा समायोजन गरेको छ। यसको लाभ अल्पकालीन नभई दीर्घकालीन रूपमा हेरिनुपर्छ,” गोल्छाले भने।

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालमा उत्पादित सवारी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने भए पनि छिमेकी देशहरूको सहयोग आवश्यक पर्ने बताए। “कार्पेट, गलैंचा, चिया, छुर्पीले जस्तै अन्तर्राष्ट्रिय बजार लिन सक्ने हो भने सवारी पनि निर्यात गर्न सकिन्छ। तर, भारत र चीन उदार नभएमा तेस्रो देशमा निर्यात गर्न गाह्रो हुन्छ,” उनले भने।

नेपालमै सवारी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले नेपालमै उत्पादित सवारी साधन खरिद गर्ने नीति अबलम्बन गर्नुपर्ने उनको भनाइ छ। नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले नेपालमा सवारी उत्पादन सम्भव भए पनि त्यसको बजारबारे गहिरो अध्ययन आवश्यक रहेको बताए।

उनले विगतमा टाटा मोटर्सले नेपालमा प्लाण्ट स्थापना गर्न चाहे पनि सानो बजार र उच्च लागतका कारण लगानी नगरेको स्मरण गराउँदै सवारी उत्पादनमा लागत र गुणस्तर मुख्य चुनौती रहेको बताए।

नेपाल भारत र चीन जस्ता ठूला देशहरूको बीचमा रहेकाले नेपालले उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक लागतमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।


प्रतिक्रिया