काठमाडौं | विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा ‘आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस्, मनपर्ने चालक छान्नुहोस्’ भन्ने मोडेलमार्फत सार्वजनिक यातायात सेवामा नयाँ क्रान्ति ल्याएको छ। ग्राहकमैत्री तथा पारदर्शी मूल्य निर्धारण प्रणालीमार्फत इनड्राइभले यात्रु र चालकबीच आपसी सहमतिमा यात्रा भाडा तय गर्न सकिने सुविधा दिएको छ, जुन नेपाली बजारमा पहिलोपटक प्रयोग गरिएको हो।
यस मोडेलमार्फत यात्रुहरूले आफूले चाहेको भाडा प्रस्ताव गर्न, उपलब्ध चालकहरूमध्ये सवारी प्रकार, दूरी, समयलगायतका आधारमा छनोट गर्न सक्ने स्वतन्त्रता पाउँछन्। परम्परागत राइड–हेलिङ सेवाहरू जस्तै एआई र एल्गोरिदममार्फत स्वचालित रूपमा भाडा तय गर्ने प्रणालीभन्दा फरक यो सेवा यात्रुका लागि बढी लचिलो र अनुकूल बनाइएको छ।
इनड्राइभका एपीएसी क्षेत्रका कम्युनिकेसन लिड पवित्र नन्द आनन्दका अनुसार इनड्राइभ नेपालमा सन् २०२२ देखि सुरु भएको हो। नेपालमा यस्तो अनौठो सुविधा दिने पहिलो एप इनड्राइभ नै भएको उल्लेख गर्दै उनले यात्रुहरूबाट अत्यधिक लोकप्रियता पाएको बताए। यात्रुहरूले उचित भाडा र सहज यात्राको अनुभवका कारण इनड्राइभलाई उच्च प्राथमिकता दिँदै आएका छन्।
इनड्राइभ विश्वमै निष्पक्ष र पारदर्शी राइड–हेलिङ मोडेलको अग्रणी कम्पनीको रूपमा चिनिन्छ। सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार इनड्राइभ अहिले विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड–हेलिङ एप बन्न सफल भएको छ। डिसेम्बर २०२४ मा मात्र यस एप ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको थियो। नेपालमा ट्राभल तथा नेभिगेसन श्रेणीमा इनड्राइभ एप नं. १ स्थानमा रहन सफल भएको छ, जसले नेपालमा यसको लोकप्रियता र उपयोगिता प्रमाणित गर्छ।
इनड्राइभको सफलताको पछाडि यसको स्वतन्त्रता, पारदर्शिता र यात्रु–चालक दुवैको हितलाई ध्यानमा राख्ने नीति रहेको कम्पनीले बताएको छ। यात्रु र चालकले आपसी संवादमार्फत यात्रा भाडा तय गर्न पाउने र सहमतिमा आधारित सेवा उपलब्ध हुने भएकाले यो एप नेपाली सहरहरूमा झनै लोकप्रिय बन्दै गएको हो। इनड्राइभका प्रत्येक यात्राहरू केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई विश्वास, समझदारी र सन्तुष्टिको अनुभव बनिरहेको कम्पनीको भनाइ छ।