के हो घरबाटो सिफारिस? यो किन जरूरी? यसलाई कहाँबाट कसरी लिने?

काठमाडौँ।  घरबाटोको सिफारिस नहुँदा सम्बन्धित मालपोत कार्यालयले घरजग्गा रजिस्ट्रेशन पास गर्ने अवस्था रहँदैन। किनभने श्रेस्ता बाहेक अन्य तथ्याङ्क र विवरण मालपोत कार्यालयसँग हुँदैन।

घरजग्गा रजिस्ट्रेसन पास गर्ने प्रक्रियामा घर बाटो सिफारिस अनिवार्य गरिएको छ। तपाईंले खरीद वा बिक्री गर्न खोज्‍नुभएको घर-जग्गासम्म पुग्‍ने बाटो र जग्गाको बिस्तृत बिबरण समेटिएको कागजपत्र नै घर बाटोको सिफारिस हो। 

घर-जग्गासम्म पुग्‍ने बाटो कस्तो प्रकारको छ, कति चौडाइको छ,  त्यो बाटो कुनै राजकुलो, खहरे खोला वा अरू निजी बाटोसँग जोडिएको छ वा छैन्, मालपोतमा कायम गरिएको जग्गाको श्रेस्ता नम्बर, कित्ता नम्बर र क्षेत्रफल कति छ लगायतको विवरण तपाईंले पेश गरे बमोजिम छ छैन भनी वडा कार्यालयले प्रमाणित गरी सम्बन्धित मालपोत कार्यालयलाई गरिदिने सिफारिस नै घरबाटो सिफारिस हो। 

संक्षिप्तमा, घर बाटो सिफारिस भन्‍नाले जब कुनै जग्गा बेच्‍नुपर्छ, बेच्‍नका लागि मालपोत कार्यालयमा गएर राजिनामा पास गरेर जो खरीदकर्ता हो, उसका  नाममा घररजग्गा पास गरिदिनका लागि वडा कार्यालयले दिने अनुमति सिफारिसको रूपमा लिन सकिन्छ।

घरबाटो सिफारिस कहाँबाट लिने?

घरबाटो सिफारिस घरजग्गा जुन ठाउँमा अवस्थित छ, त्यसको सम्बन्धित वडा कार्यालयबाट लिनुपर्ने हुन्छ। कुनै घर किनबेच हुँदै छ भने कारोबार गर्न खोजिएको घरको नक्शा पास, अध्यावधिकको विवरण स्थानीय तहमा रहने हुँदा घरबाटो सिफारिस  गर्ने जिम्मेवारी सम्बन्धित वडा कार्यालय कै हुन्छ। घरबाटोको अवस्थाले पनि सम्पत्तिको मूल्याङ्कनमा असर पर्ने कुरा स्थानीय तहको आर्थिक ऐनमा  तोकिएको हुँदा मालपोतबाट रजिस्ट्रेशन पास गर्नु अगाडि स्थानीय तहको स्वीकृति (घरबाटो सिफारिस) अनिवार्य चाहिने कुरा हो।

घरबाटो सिफारिसका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचाबमोजिम निवेदन लेखी घर-जग्गाको विवरण पेश गर्नुपर्दछ। यस्तो निवेदन सम्बन्धित वडा अध्यक्षका नाममा सम्बोधन गरि लेख्‍नुपर्छ। हाल विभिन्‍न नगरपालिकाले घरबाटो सिफारिस निवेदनको ढाँचा (फरम्याट) डाउनलोडरप्रिन्ट गर्न मिल्ने गरी आफ्नो वेवसाइटमा पनि राखेका हुन्छन्।  

चाहिने कागजातहरू?

घरबाटो सिफारिसका लागि वडा कार्यालयमा निवेदन पेश गर्दा निम्‍न कागजातहरू समावेश गर्नुपर्दछः

जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी -१ 

खरीदकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी -१ 

निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी -१ 

जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी -१ 

मालपोत तिरेको रसिदको प्रतिलिपी -१ 

घर भए कर तिरेको प्रमाणको प्रतिलिपी -१  

नापी नक्सा (ब्लू प्रिन्ट) सक्कल -१  

घरबाटो सिफारिसका लागि निवेदन दिँदा बिक्रीकर्ता र खरीद्कर्ता दुबै अनिवार्य उपस्थित हुनुपर्छ र निवेदनमा दुबैले हस्ताक्षर गर्नुपर्छ।

घरबाटो प्रमाणित कसरी गरिन्छ?

तपाईले पेश गरेको निवेदनमा खुलाइए बमोजिम जग्गाको विवरण ठीक छ छैन, बाटोको विवरण ठीक छ छैन लगायतका कुरा सम्बन्धित वडा कार्यालयले रूजू गर्छ। घरको सम्पत्ती कर तिर्दादेखि नै वर्तमान घरधनीको सम्पत्ती विवरण सम्बन्धित वडामा अध्यावधिक भइसकेको हुन्छ। कतिपय अवस्थामा चाहिँ फिल्डमै गएर हेर्नुपर्ने पनि हुन सक्छ तर पहिले नै सबै विवरण अध्यावधिक भइसकेको हुने हुँदा घरजग्गाको सन्दर्भमा फिल्डमा गएर रूजु गर्नुपर्ने आवश्यकता रहँदैन। नक्शा पास गर्दा, सम्पत्ती कर तिर्दा सबै विवरण सुरक्षित हुने भएकोले स्थानीय तह वा मालपोतका प्रतिनिधी रूजु वा प्रमाणितको लागि फिल्डमा जानु भने पर्दैन।

फिल्डमा पाइएको विवरणअनुसार वडा कार्यालयले निश्‍चित ढाँचामा घरबाटो  प्रमाणित गरिएको व्यहोरा खुलाइ सम्बन्धित मालपोत कार्यालयलाई सिफारिस पत्र लेख्छ। यस्तो सिफारिसमा सम्बन्धित वडा अध्यक्षले हस्ताक्षर गर्नुपर्ने हुन्छ।

घरबाटो सिफारिस नभएको घरजग्गा पास गर्न मिल्छ?

घरबाटो सिफारिस नहुँदा सम्बन्धित मालपोत कार्यालयले घरजग्गा रजिस्ट्रेशन पास गर्ने अवस्था हुँदैनन। किनभने श्रेस्ता बाहेक अन्य तथ्याङ्क र विवरण मालपोतसँग हुँदैन । जस्तो कि, कसैले २०७० सालमा घर बनाएको छ र अहिले २०८१ सालमा कसैलाई बेच्‍नु छ भने ११ वर्षसम्म उसले स्थानीय तहमा सम्पत्ती कर तिरेको वा नतिरेको, मालपोत कर पनि तिरेको वा नतिरेको,  घरको ह्रासकट्टिको अवस्था कस्तो रहेको विवरण पास गर्ने बेलामा आवश्यक पर्छ। 

यी सबै तथ्याङ्क/विवरण स्थानीय तहसँग हुन्छ र सबै विवरण मालपोतसँग  नहुने भएकोले घरबाटो सिफारिस नहुँदा रजिस्ट्रेशन पास गर्न सकिने अवस्था भने रहँदैन। अर्थात् यी सबै कुरा प्रमाणित भएपछि मात्रै वडा कार्यालयले घरबाटो सिफारिस दिन्छ र सम्बन्धित मालपोतले घरजग्गा पासको प्रक्रिया अगाडी बढाउँछ।   

प्रतिक्रिया