रमिला गुरुङको जीवनले सबैभन्दा गहिरो चोट त्यो दिन पाएँ, जब श्रीमान् डोजर दुर्घटनामा परेर सधैंका लागि परलोक गएका थिए। मकवानपुरको भीमफेदीमा रहेको उनको सानो झुपडी त्यो दिनदेखि बोझिलो बन्यो। सात र चार वर्षका दुई छोरालाई पेटभरि खान दिनुपर्ने, बिरामी सासूको उपचार गर्ने, अनि आफैंको आँशु लुकाएर बाँचेको अभिनय गर्नुपर्ने! सबैभन्दा गाह्रो त त्यो थियो, जब भित्रैभित्र खाई रहेको पीडालाई संसारसामु हाँसिले ढाक्नुपर्थ्यो।
कुनै सीप थिएन, जागिर पनि थिएन, अनि नजिक सहयोग गर्न आउने कोही आफन्त थिएनन्। गाउँका केही महिलाले ‘सहकारीमा ऋण पाइन्छ’ भनेर सुझाइदिएपछि रमिलाले बिना योजना ५० हजार रुपैयाँ ऋण लिइन्। सुरुमा सबै सजिलो लाग्यो—टिभी, मोबाइल, लुगा, बच्चाको ट्युसन—सबै पूरा गरिन्। तर दुई महिनामै पैसा सकियो, अनि सहकारीले फोन गर्न थाल्यो। किस्ता तिर्न नसक्दा ब्याज बढ्दै गयो, डर र तनावले मनलाई किच्न थाल्यो। ऋणले उनलाई बचाउने होइन, झनै डुबाउने खतरा देखाउँदै थियो।
एक साँझ उनले बच्चालाई भोकै सुताउँदा आँखाबाट अश्रु थामिएनन्। मनभित्र गहिरो द्वन्द्व चल्यो—"म ऋणमा डुबेँ कि जीवनमै हार खाएँ?" त्यही रात, उनले पहिलोपल्ट आत्मसमीक्षा गरिन्। आफुले गरेको गल्ति सम्झिन —“मैले पहिले खर्च गर्ने सोचें, कमाउने होइन।” अनि त्यो रात नै उनले नयाँ योजना बनाइन्—बाँच्ने योजना। उनले साथी-भाई छेउ-छिमेकी आफन्त गुहारेर फेरि २० हजार ऋण लिइन्, तर यसपटक सोचेर।
रमिलाले गाउँमै उत्पादन हुने मकैको पिठो, गुन्द्रुक, अचार बेच्न थालिन्। स्थानीय युवासँग मिलेर फेसबुक पेज खोलिन्—‘रमिला आमा घरको स्वाद’। भिडियो बनाए, अर्डर लिन थालिन्। उनी बिहान पाँच बजे उठ्थिन्, सामान प्याक गर्थिन्, बच्चालाई पढाउँथिन्, अनि ग्राहकको अर्डर डेलिभर को लागि पठाउने गर्दथिन। व्यापार चल्दै गयो, तीन महिनामै पुरानो ऋणको ब्याजसहित किस्ता तिर्न थालिन्। सहकारी आफैँ उनलाई सम्मान गर्न थाल्यो।
अब रमिलालाई गाउँलेहरू प्रेरणाको स्रोत मान्छन्। महिलाहरू उनकैमा परामर्श लिन आउँछन्। एक कार्यक्रममा माइक समाउँदै उनले भनिन्, ऋण लिँदा डराउनु हुँदैन। तर योजना, अनुशासन, र इमानदारी बिना लिइएको ऋणले तपाईंलाई डुबाउँछ। कमाउनुअघि खर्चको योजना बनाउनुहोस्। आज रमिला मात्र ऋण मुक्त होइनन्, आत्मनिर्भर पनि बनेकी छन्।