काठमाडौँ। आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
यस दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरू भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।
सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो। प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो। मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरे यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरू गरिएको हो।
विश्वभरका मजदुरहरूले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।
नेपालमा समेत मजदुर संघसंगठनहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन्। नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा मे दिवसको दिन सार्वजनिक बिदा दिन थालिएको हो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar