काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले आगामी बजेट उच्चस्तरीय आर्थिक सुधार आयोगका सिफारिस अनुसार निर्माण गर्नुपर्ने सुझाव दिनुभएको छ।
अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बजेट तथा राजस्व नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आयोगको सुझाव अनुसार बजेट बनाइएमा अर्थतन्त्रका धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आगामी बजेट विकासमुखी, जनताको आवश्यकता र प्राथमिकतामा आधारित, उत्पादन तथा रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँको भनाइमा, सरकारले राजस्व संकलनलाई मात्रै प्राथमिकता दिँदा रोजगारी सिर्जना, उत्पादन बृद्धि तथा आयात प्रतिस्थापनजस्ता महत्वपूर्ण विषयहरू ओझेलमा परिरहेका छन्।
“आयातमा आधारित हाम्रो अर्थतन्त्रमा भन्सारका दरहरु उच्च छन्। भारतसँग खुला सिमानाको कारण यस्तो संरचनाले चोरी पैठारीलाई समेत प्रोत्साहन गरिरहेको छ। करको दरभन्दा करको दायरा बढाउनु पर्छ। राज्यले आयात प्रतिस्थापनका लागि घरेलु उत्पादनलाई प्रोत्साहन दिनुपर्छ,” अध्यक्ष ढकालले भन्नुभयो।
उहाँले खनिजजन्य वस्तुको निर्यात खुला गर्नुपर्ने र निर्यातमुखी नीतिहरू ल्याउनुपर्नेमा समेत जोड दिनुभयो। साथै, विगत दुई वर्षदेखि रेमिट्यान्समार्फत आउने रकमको आन्तरिक कारोबार बन्द गरिँदा सर्वसाधारण, साना व्यवसायी, विद्यालय, कलेज, अस्पताल जस्ता क्षेत्र समस्यामा परेका कारण, उक्त कारोबार पुनः सुचारु गर्न सरकारलाई पहल गर्न सुझाव दिनुभयो।