काठमाडौं । राजधानीमा आयोजित '२६औं फ्लोरा एक्स्पो' ले दोस्रो दिनमै उल्लेखनीय संख्यामा दर्शकको उपस्थिति पाएको छ। शुक्रबारबाट सुरु भएको यो फ्लोरीकल्चर एसोसिएसन नेपाल (FAN) को प्रदर्शनीमा शनिबार हजारौंले अवलोकन गरेका छन्।
फ्लोरा एक्स्पो मा विभिन्न प्रजातिका फूल, बिरुवा, बगैंचासम्बन्धी सामग्री तथा जैविक उत्पादनहरू प्रदर्शनमा राखिएका छन्। मेलामा बगैंचा सजावट, ल्यान्डस्केप डिजाइन, हाउसप्लान्ट तथा पुष्प व्यवसायका विभिन्न सम्भावनाहरूबारे जानकारी लिन सकिन्छ।
आयोजक संस्थाका अनुसार पहिलो दिनभन्दा दोस्रो दिन शनिबार अझ बढी भिड देखिएको छ। एक्स्पोमा सहभागी व्यवसायीहरूका अनुसार नेपालमा व्यावसायिक पुष्प खेती र हरियाली प्रवर्द्धनका लागि यस्ता एक्स्पोहरू महत्वपूर्ण हुने बताएका छन्।
प्रदर्शनीमा विभिन्न जातका मौसमी फूल, कट फ्लावर, सजावटी बिरुवा तथा गमलामा राख्न सकिने इनडोर प्लान्टहरू राखिएका छन्। साथै, प्लास्टिक तथा सिरेमिकका आकर्षक गमला, मल, औजार तथा अन्य उद्यानसम्बन्धी सामग्रीहरू पनि बिक्री तथा प्रदर्शनमा छन्।
फ्लोरा एक्स्पोले स्थानीय पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने तथा नागरिकहरूलाई हरियालीप्रति आकर्षित गर्ने लक्ष्य राखेको आयोजकले बताएका छन्। प्रदर्शनी सोमबारसम्म सञ्चालन हुनेछ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar