दीपेन्द्र सिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त

काठमाडौं। SPG अटोमोबाइल्स प्रा.लि. (ओमोडा एन्ड जेइकोका लागि नेपालका आधिकारिक वितरक) ले नेपाली क्रिकेटका चर्चित खेलाडी तथा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ।

शिल्भर ओक बैंक्वेट, काठमाडौंमा आयोजित विशेष समारोहमा शारदा समूहका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा दीपेन्द्र सिंह ऐरीलाई औपचारिक रूपमा ब्रान्ड एम्बेसेडर बनाइएको हो। कार्यक्रमको क्रममा ओमोडा इ-फाइभ गाडी पुरस्कार हस्तान्तरणसहित सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।

समारोहमा आफ्नो नयाँ भूमिकाबारे खुशी व्यक्त गर्दै ऐरीले भने, “फ्युचरिस्टिक प्रविधि र नवप्रवर्तनमा आधारित ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। यो ब्रान्डले उत्कृष्ट सुविधाहरूको साथमा विद्युतीय गाडी बजारमा नयाँ उचाइ प्रकट गरिरहेको छ।”

ओमोडा एन्ड जेइकोले नेपाल टी–२० लिगको "इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट" का रूपमा दीपेन्द्रलाई चयन गर्दै उनलाई ओमोडा इ-फाइभ गाडी प्रदान गरेको हो। यस अवसरमा शारदा समूहका प्रबन्ध निर्देशक गिरीश शारदाले ऐरीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गर्दा गर्व महसुस भएको बताए। उनले भने, “दीपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटका उदाउँदा तारामध्ये एक हुन्। उनीसँगको साझेदारीले नेपाली क्रिकेटको प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउनेछ।”

ओमोडा एन्ड जेइको, नेपाली खेलकुद क्षेत्रमा नयाँ प्रतिभाको पहिचान गर्दै उनीहरूको प्रोत्साहनमा विश्वास राख्छ। यस साझेदारीले केवल ऐरीको करियरलाई मात्र नभई, नेपाली क्रिकेटको समग्र विकासलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

यस समारोहमा शारदा समूहका अध्यक्ष शशि रत्न शारदा, SPG अटोमोबाइल्सका निर्देशकहरूसहित सञ्चारकर्मी, प्रभावशाली व्यक्तित्वहरू, र खेलकुद क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया