काठमाडौँ। हामीले घर वा भवन निर्माण गर्दा समुदायलाई प्राकृतिक विपद्बाट सुरक्षित राख्न, सहरी प्रदूषण नियन्त्रण गर्न, हरियाली बढाउन तथा खुला क्षेत्रलाई संरक्षण गर्न, नागरिकको स्वास्थ्य सुरक्षित राख्न नगरपालिका/गाउँपालिकाहरूमा भवन मापदण्ड तथा भवन निर्माण संहितालाई पालन गर्नुपर्ने हुन्छ।
भवन निर्माणको मापदण्ड र आचार संहितालाई कार्यान्वयन गर्न भवन निर्माण अनुमति प्रक्रियाको पालना गर्दै घरधनीले भवन निर्माणको लागि नगरपालिका/गाउँपालिकाबाट औपचारिक रूपमा भवन मापदण्ड र संहिता पालना गरी अनुमति लिनुपर्छ।
भवन निर्माण अनुमति प्रक्रिया नयाँ निर्माण, तला थप, जग्गामा पर्खाल निर्माण गर्दा नगरपालिका/गाउँपालिका अनुसार केही रूपमा भने फरक हुन सक्छ। साथै यस्तो प्रक्रियाका लागि नगरपालिका/गाउँपालिकाबाट लिने दस्तुर पनि फरक हुन सक्दछ।
भवन निर्माण अनुमति प्रक्रियाको विभिन्न चरणहरू निम्न अनुसार छन्ः
१ निवेदन तथा दरखास्त फाराम बुझाउने।
२ नक्सा जाँच तथा निवेदन दर्ता र दस्तुर बुझाउने।
३ नगरपालिकाबाट १५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने।
४ सर्जमिन मुचुल्का उठाउने।
५ प्लिन्थ लेभल (टाईबिम) सम्मको निर्माणको लागि प्रथम चरणकोअनुमति पत्र लिने।
६ नगरपालिका/गाउँपालिकाबाट भवन निर्माणको निरीक्षण गराउने।
७ प्लिन्थ लेभल (टाईबिम) भन्दा माथि निर्माणको लागि दोस्रो चरणको निर्माण अनुमति पत्र लिने।
८ निर्माण सम्पन्न प्रमाणपत्रको लागि निवेदन दिने।
९ नगरपालिका/गाउँपालिकाबाट भवन निर्माणको निरीक्षण गराउने।
१० निर्माण सम्पन्न प्रमाण पत्र लिने।
भवन निर्माण अनुमतिका प्रक्रिया अन्तर्गत नक्सा डिजाइन, नक्सा पास प्रक्रिया, प्लिन्थ लेभल (टाईबिम जग) सम्मको निर्माण अनुमति, जगभन्दा माथिको निर्माण अनुमति र निर्माण सम्पन्न प्रमाण पत्र लिनु पर्दछ। यो प्रक्रिया नगरपालिका/गाउँपालिका अनुसार फरक फरक हुनसक्छ।