लुक्लामा एकैदिन १८४ वटा हवाई उडान, पर्यटकको संख्या बढ्यो

काठमाडौँ।  सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन १८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी १८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। 

नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले १५२ तथा जहाजले २३ वटा उडान भरेका हुन्। जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरणले जानकारी दिएको छ। आज हवाई सेवाबाट मात्रै ३९६ जना विदेशी र १३६ जना नेपाली गरी कूल ५३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। उक्त सङ्ख्यामा पर्यटक भित्रिँदा ३३६ जना विदेशी र १२६ जना नेपाली गरी कूल ४६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्। नाम्चेबाट आज ४७५ जना विदेशी पर्यटक उकालो लाग्दा ३०३ जना विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्याङ्क छ। 

सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरू भएकाले फर्किने क्रम पनि त्यतिकै रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ।  

चिसो मौसम सुरू भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ। मङ्सिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ। 

प्रतिक्रिया