काठमाडौं | मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहेको छ।
बुधबार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन्।
बिहीबार देशका पहाडी भूभागमा साधारणतया बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।
शुक्रबार पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ भने पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने मौसमविद्हरूको अनुमान छ।
मेघगर्जन, चट्याङ्गसहितको हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यात्रु तथा स्थानीयवासीलाई सुरक्षित रहन तथा जोखिम न्यूनीकरणका उपाय अपनाउन सुझाव दिइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar