पुष २४, काठमाडौं। नेपाली युवा विश्व बजारमा श्रमको खोजी गर्दै यो वर्ष ८ लाख ८ हजार ४१५ पुगेका छन्। जसमध्ये ७ लाख २३ हजार ७८९ जना पुरूष रहेका छन् भने ८४ हजार ६०४ जना महिला रहेका छन्। अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ४ हजार ५१८ जना पर्यटन भिसामा विदेश गएका छन्।
यो वर्ष करिब ७० हजार नेपालीले विदेशमा नै स्थायी बसोबास गरेका छन्। त्यस्तै, ९१ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख छ। स्वास्थ्योपचारका लागि १९ हजार ५०९ जना विदेश गएका छन्। श्रम स्वीकृति नलिएर पनि रोजगारीका लागि भन्दै ६ हजार ३३४ जना विदेश गएका छन्। पारिवारिक भेटघाटका लागि नै १ लाख ६७ हजार ४८५ जना नेपाली विदेश गएको उल्लेख तथ्यांकमा गरिएको छ।
अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए। जसमा नेपालीहरूको प्रमुख गन्तव्य दुबई बनेको छ। यो वर्ष करिब २ लाख ७१ हजार ८८ जना नेपाली दुबई पुगेका छन्। दोस्रोमा भारत रहेको छ। १ लाख ८० हजार ६०२ जना नेपाली भारत पुगेका छन् भने कतार १ लाख ७९ हजार ४४१ जना, मलेसिया १ लाख ६४ हजार २०१ जना, साउदी अरेबिया १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलिया १ लाख ५ हजार ३४३ जना, जापान ८२ हजार ७७२ जना र अमेरिका ६७ हजार ८१० जना नेपाली पुगेका छन्।
यसरी नेपालीहरू विभिन्न कामका लागि दैनिक करिब ४ हजार ४५५ जना विदेशिने गरेका छन्।
विभागले दिएको तथ्यांकअनुसार यो वर्ष करिब १२ लाख ३२ हजार ५९ जना नेपाली अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएका छन्। यसरी दैनिक ३ हजार ४ सय नेपाली दैनिक स्वदेश फर्किने गरेका छन्। गत जनवरीमा करिब १ लाख १२ हजार ७५५ जना नेपाली स्वदेश फर्किएका थिए भने डिसेम्बरमा १ लाख ८ हजार ३५१ जना नेपाली स्वेदश फर्किएका थिए। विदेश जाने र स्वदेश फर्किने दैनिक तथ्यांक हेर्ने हो भने संख्यामा करिब १ हजारको फरक देखा पर्छ।
विश्वव्यापीकरणको विशेषता एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराई पनि हो तर सुन्दर भविष्यको आशामा विदेशिनु पर्ने साझा बाध्यता बनेको छ। ‘सरकारको कमजोर राज्य सञ्चालन र युवालाई सिर्जना गरिदिनुपर्ने रोजगारी तथा उसको सामाजिक सुरक्षामा चुकेपछि लाखौँ परदेश भासिनुपरेको हो, ‘ढिलासुस्ती, कमजोर अर्थनीति, उत्पादनमूलक र औद्योगिक क्षेत्रमा राज्यको न्यून लगानी हुँदा देशमा चरम बेरोजगारीको समस्या त छँदैछ। यसले गर्दा युवाहरूले जोखिम उठाउनुपर्ने बाध्यता छ।’
‘घर फर्किने मान्छेले फर्किने कारण खोज्छ। फर्केपछि गर्न काम खोज्छ। काम छैन भने पनि काम सिर्जना गर्ने वातावरण खोज्छ। हरेक मान्छेले स्वाभिमानपूर्वक बाँच्न पाउने सुविधा खोज्छ। सामाजिक सुरक्षा खोज्छ। कामप्रतिको सम्मान खोज्छ। राष्ट्रभक्तिको नाराले मात्र परिवार चल्दैन। जसले गर्दा देशको सीमा नाघ्नुपर्छ’, उनले सुनाए, ‘असल शासकको खोजीमा हाम्रा अघिल्ला पुस्ताले जीवन बिताए। हामी पनि यही चरणमा छौं। असल शासकबाट शासित हुन नपाउनु, शासकले युवाहरूलाई स्वदेशमा बस्ने वातावरण सुनिश्चित गर्न नसक्नु पलायन हुनुको मुख्य कारण हो।’