पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

weather forecast

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज आइतबार (चैत ३) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहनेछ।

हाल कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार आगामी २४ घण्टाका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

मौसम विभागले सम्भावित असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ।

प्रतिक्रिया