तिहारमा यसरी सजाउनुहोस् आफ्नो घरलाई

काठमाडौँ।  हरेक बर्ष झैं यो बर्षको पनि तिहार नजिक आइसकेको छ। तिहार सुरू भएसँगै गाउँदेखि सहरसम्म झिलिमिलीको माहोल बढ्दो छ।

आजको यो लेखमा हामी तपाईंलाई तिहारमा घरलाई कसरी सजाउने भन्ने बारे जानकारी दिने छौँ। 

सामान्यतया हामीले घरलाई सजाउने तयारी गर्दा घरको सरसफाई ध्यान दिन जरूरी छ किनकी घर सफा भएपछि त्यसलाई सजाउँदा फरक किसिमको आकर्षक देखिन्छ। घरलाई सफा सुग्घर राख्दा, झिलिमिली बनाउँदा, दियो–बत्ती बाल्दा लक्ष्मी भित्रिन्छ भन्ने शास्त्रीय मान्यता समेत रहेको छ।

लक्ष्मी धन-ऐश्वर्यकी प्रतीक। त्यसो त घरसँग हाम्रो भावनात्मक सम्बन्ध हुन्छ, जहाँ हामी अधिकांश समय बिताउने गर्छौं। आफू बस्ने घरलाई सजाउँदा हाम्रो मन पनि प्रफुल्ल हुने नै भयो।

खास गरी तिहारमा घरलाई विशेष ढङ्गले सजाउने प्रचलन छ। वर्षौंदेखि हामीले यसलाई निरन्तरता दिँदै आएका छौं।

घर राम्रो बनाउनु भनेको नै सजावट गर्नु हो। घरलाई फरक वा विगतका भन्दा फरक शैलीमा सजाउन सके नयाँपन महसुस गर्न सकिन्छ। यद्यपि तिहार एक सांस्कृतिक चाड भएकाले घरलाई पनि सोही अनुरूप सजाउनु उत्तम हुन्छ।

तिहारको बेला सयपत्री फुल र मखमली फुलले खेत तथा बारीहरू ढकमक्क भएका हुन्छन्। सयपत्रीको मालालाई झ्याल९ढोकासहित घरको अग्र भागमा लस्करै सजाउन सकिन्छ। त्यसै गरि आफ्नो इच्छा अनुसारका सजावट पनि गर्न सकिन्छ।

यदि फूल उपलब्ध छ भने आँगन, बार्दली समेत फूल मालाले सजाउन सकिन्छ। त्यस्तै बैठक कोठा वा घरभित्रको फराकिलो ठाउँमा पनि मालालाई कलात्मक रूपमा सजाउन सकिन्छ। 

कतिपयको घरमा स्थायी पूजा कोठा हुन्छ। त्यसैलाई पनि बत्तीहरू बालेर नयाँपन दिएर सजाउन सकिन्छ। कतिपयले भने अस्थायी रूपमा पनि लक्ष्मीको फोटो, प्रतिमा आदि राखेर पूजा स्थल बनाउने गर्दछन्।

पूजा स्थलमा फूल माला र झिलिमिली बिजुली राख्ने, दियो कलश राख्ने, फूल अक्षता राख्ने। केराको थाम राख्ने र पहेँलो वा रातो कपडाको धजाहरू प्रयोग गर्न सकिन्छ। साथै झिलिमिली बत्तीले पनि सजाउन सकिन्छ। पूजा स्थलले पनि घरको आकर्षणलाई बढाउँछ।

लस्करै बालिएको दियोले त घरलाई निकै आकर्षक देखाउँछ। सामान्यतया माटोको दियोलाई एक समान लहरमा राखेर बाल्न सकिन्छ भने अहिले बजारमा विभिन्न शैली एवं डिजाइनका दियोहरू उपलब्ध छन्, कुनै त पानिबाट बल्ने दियोहरू पनि छन् यसले पनि घर सजाउन सकिन्छ र आफ्नो रुचि अनुसारको दियो बालेल फरक तरिकाले पनि सजाउन सकिन्छ।

यसै गरी दियोको विकल्पमा मैनबत्ती पनि बाल्न सकिन्छ। थरी थरी शैलीका मैनबत्तीलाई कलात्मक ढङ्गले सजाउन सकिन्छ। अहिले सुगन्धित मैनबत्ती पनि बजारमा पाइन्छ।

अधिकांशले तिहारमा झिलिमिली बत्ती सजाउने गर्छन्। त्यसो त तिहारलाई लक्षित गरेर अनेक थरी बिजुली बत्तीहरू बजारमा पाउन सकिन्छ। आफ्नो घरको बनावट हेरेर पनि बत्तीले सजाउन सकिन्छ।

धेरै थरी रङ्गको बिजुली भन्दा पनि रातो मात्र, निलो मात्र वा पहेँलो मात्र बिजुली राख्दा अझ भिन्न देखिन्छ।

तिहारमा घरलाई आकर्षक बनाउन तामा, चाँदी आदिको कलश र खड्कुँलोमा पानी राखेर त्यसमाथि फूलहरू राखेर सजाउन सकिन्छ। पानीमाथि तैरिरहेको फूल, सुगन्धित वनस्पति र बलिरहेको दियोले घरलाई निकै आकर्षक देखाउँछ।

अब घरको प्रवेशद्वार वा आँगनमा रंगोली बनाउन सकिन्छ। ठाउँ र अवस्था हेरेर रंगोली ठूलो वा सानो बनाउन सकिन्छ। रङ्ग, अक्षता, फूल आदि जे उपलब्ध हुन्छ, त्यसैबाट रंगोली बनाउन सकिन्छ। अहिले रंगोलीको विभिन्न प्रकारका डिजाइनहरू इन्टरनेटमा सहजै पाउन सकिन्छ। त्यसैलाई हेरेर पनि डिजाइन गर्न सकिन्छ। यसका अलवा हामी हाम्रो घरमा उपलब्ध हुने पीठो र विभिन्न रङहरूको प्रयोगबाट पनि सजिलै रंगोली बनाउन सक्छौँ। 

रंगोली डिजाइन गर्नका लागि तयारी सामाग्री पनि अहिले बजारमा पाइन्छ। रंगोलीको माझमा वा हरेक कुनामा दियो सजाउन सकिन्छ।

यदि घर वरपर बगैँचा छ, रूख छ भने त्यसलाई पनि सजाउन सकिन्छ। बगैँचामा भएको रुख बिरुवा र रुखमा बत्ती जडान गरेपछि घरलाई झलमल्ल बनाउन सकिन्छ। अब घरलाई यसरी नै सजाउनुहोस् र प्रसन्न रहनुहोस्। 

प्रतिक्रिया