किन गरिन्छ ‘प्रोपर्टी भ्यालुएसन’?

काठमाडौँ।  जुनसुकै किसिमको घरकर्जामा सम्पत्तिलाई नै धितो सुरक्षणका रूपमा राखिने भएकाले त्यस्तो सम्पत्तिको अनुमानित मूल्य थाहा पाउनु जरुरी हुन्छ। 

सोही मूल्यका आधार बैंक र वित्तीय संस्थाहरूले ऋण दिने कि नदिने, कति रकम दिनेलगायत कुराहरू निर्धारण गर्दछन्।  त्यसैले घरजग्गा ऋण लेनदेनमा सम्पत्तिको मूल्यांकन महत्वपूर्ण विषय हो। बैंकले नियुक्त गरेका इन्जिनियरले धितो मूल्यांकन गर्ने गर्दछन्।

कसरी गरिन्छ मूल्यांकन? 

सबै बैंकहरूको आ–आफ्नो नीति नियमहरू हुन्छ। उनीहरूका  ‘अनलिस्टेड प्यानल अफ भ्यालुअर’ हुन्छन्। सामान्यतया बैंकहरूले घरजग्गाको पछिल्लो अवस्थाको मूल्यांकन गर्न इन्जिनियरलाई लगाउने गर्दछन्। इन्जिनियरले स्वतन्त्र रूपमा घरजग्गाको मूल्यांकन गर्छन्। यसमा बैंकले कुनै हस्तक्षेप गर्न पाउँदैन। 

इन्जिनियरले बैंकका कर्मचारीलाई साथमा लगेर साइटमै पुगेर घरजग्गा हेर्छन्। बैंकले पूर्ण रूपमा इन्जिनियरलाई छोड्दैन। उनीहरूले चलनचल्तीको भाउ बुझ्छन् र, सरकारी मूल्यांकन र बजार भाउबाट फेयर मार्केट भ्यालु निकाल्छन्। सरकारी मूल्य मालपोत कार्यालयले प्रकाशित गरिसकेका हुन्छन्। पछिल्लो समयमा स्थानीय तहले आफू मातहतका जग्गाको मूल्यांकन सूची आफैं प्रकाशित गर्न थालेका छन्। घरजग्गाको मूल्यांकन गर्दा चलनचल्तीको भाउलाई बढी हेर्ने गरिन्छ।

सम्पत्तिको औसत मूल्यांकन कसरी गरीन्छ?

चलनचल्तीको बजार मूल्यको तुलनामा घरजग्गाको सरकारी मूल्यांकन कम हुन्छ। सरकारी मूल्यांकन सम्बन्धित क्षेत्र हेर्ने मालपोत कार्यालयले तय गरेका हुन्छन्। बजार मूल्य किनबेचको आधारमा तय भएको हुन्छ। दुई मूल्यबीच धेरै नै फरक हुन्छ। बैंकले सरकारी मूल्यांकन र चलनचल्तीको भाउबाट फेयर मार्केट भ्यालु निकाल्छन्।  सरकारी मूल्यांकनको ३० प्रतिशत र बजार मूल्यको ७० प्रतिशतबाट फेयर मार्केट भ्यालु निकालिन्छ र बढीमा त्यसको ७० प्रतिशतसम्म ऋण प्रवाह हुन्छ। 

परिवारका सदस्यको सम्पत्तिबाट पनि ऋण लिन पाइन्छ?

बैंकहरूले परिवारका अन्य सदस्यको नाममा भएको सम्पत्ति धितो राखेर पनि ऋण दिने व्यवस्था गरेका छन्। अहिले राष्ट्र बैंकको निर्देशनले पनि स्पष्ट व्याख्या गरेको छ, ‘घरपरिवारको मान्छे हो? होइन? जस्तै, श्रीमान्–श्रीमती, आमा–बुबा, सासू–ससुरा, नछुट्टिएका दाजुभाइ, भाउजू–बुहारी एकै घरपरिवारका सदस्य मानिन्छन्।’ 

यी व्यक्तिहरूको सम्बन्ध स्पष्ट हुने गरी खुलेमा बैंकले ऋण दिन्छन्। परिवारको सम्पत्ति धितो राखेर ऋण निकाल्न पाइन्छ र आमा–बुबा, दाइभाइको नाममा रहेको जग्गा धितोमा राखेर ऋण लिन पनि सकिन्छ।  

प्रतिक्रिया