उत्तरी गोरखाको चुम उपत्यकालाई म्युजिक भिडियो मार्फत प्रचारप्रसार (भिडियो सहित)

माघ ६, काठमाडौँ।   उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने अनुपम प्राकृतिक सौन्दर्यता र मनोरम दृष्यले भरिपूर्ण क्षेत्रको परिचय दिने गरी चुम उपत्यकाको परिचय झल्काउने म्यूजिक भिडियो तयार पारिएको छ ।  ‘‘हाम्रो चुमभ्याली’ नामक म्युजिक भिडियो तयार पारीएको हो । प्रख्यात गायक राजु लामाकाे स्वरमा रहेकाे उक्त भिडियाे गित केही समय भित्रै १ लाख २९  हजार मानिसले हेरी सकेका छन् ।

साविकको छेकम्पार र चुम्चेत गाविस समेटिएको सुन्दर र शान्त हिमश्रङखलाका काँखमा रहेको चुम उपत्यकाको सौन्दर्यलाई शब्दमा बयान गर्न कठिन हुन्छ । अपार प्राकृतिक स्रोत र साधनको धनी चुम उपत्यका नेपालकै प्रचुर सम्भावना बोकेको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।

यिनै चुम उपत्यकाको प्राकृतिक सुन्दरता र साँस्कृतिक महत्वलाई श्रव्य–दृश्य मार्फत विश्वसामु चिनाउने उद्देस्यले भर्खरै ‘‘हाम्रो चुमभ्याली’’ चिनारी नामक म्युजिक भिडियो निर्माण गरिएको निर्माण हो । स्थानीयबासी समेत रहेका छाङ दोर्जे लामाको शब्द र राजु थापाकाे संगीतमा रहेको ‘‘हाम्रो चुमभ्याली’’ मा चुम उपत्यकालाई श्रब्य र दृष्यमा समेटिएको छ ।

चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, स्थानीय युवाहरु समेत साँझेदारी र आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चुम क्षेत्रको हिमाली सुन्दरता, साँस्कृतिक विविधता एवं विविध पक्षहरु गीत तथा म्युजिक भिडियो मार्फत उजागर गरिएको गीतका सर्जक लामाले बताए ।

‘‘चुम उपत्यकामा रहेका विभिन्न हिम चुचुराहरु, प्राकृतिक सम्पदा, यहाँका परम्परागत मौलिक भेषभुषा, पहिरन,स्थानीय जिवजनावरहरु जैविक विविधतालाई यो गीत र म्युजिक भिडियो मार्फत उजागर गरिएको छ, उनले भने, ‘‘यसैको माध्यमबाट चुम उपत्यकाको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’’

पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चुमभ्यालीको ठाउँ विशेष चिनारी स्वरुपको गीत र म्युजिक भिडियोले समग्र चुमभ्याली क्षेत्रको कला, संस्कृतिको संरक्षण सम्बद्र्वनमा समेत भूमिका खेलेको लामाको भनाई छ । उनले ‘‘हाम्रो चुमभ्याली’’ को म्युजिक भिडियो हेरेर चुम उपत्यकाको सौन्दर्यताले पर्यटकलाई लोभ्याउन सकिने बताए ।

‘‘सृजनात्मक ढंगले चुम उपत्यका विशेषता र चिनारीलाई प्रचारप्रसार गर्ने सबैभन्दा सरल माध्यम नै श्रब्य–दृश्य माध्यम भएकाले पनि हामीले गीतसंगीतको माध्यमबाट चुम उपत्यकालाई चिनाउने प्रयास गरेका छौ, लामाले भने, ‘‘स्थानीय कलाकारहरुको सहभागीता र भेषभुषाले म्युजिक भिडियो हेर्ने दर्शकका लागि एक पटक आफै चुम भ्याली पुगेको अनुभूति समेत यस भिडियोबाट पाउनेछन् ।’’

गीतको शब्द चयन र ब्याख्याले समग्र चुम उपत्यकको सुन्दरता र प्राकृतिक मनोरमलाई छोएको छ । अहिंसात्मक क्षेत्रको रुपमा रहेको बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली त्यहाँको अर्को सांस्कृतिक विशेषता पनि हो । चुम उपत्यकामा कुनै पनि जनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने र डढेलो लगाउन समेत पाइदैन ।

अहिंसात्मक क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटकहरु हिम चितुवाका साथै झारल, घोरल, कस्तुरी, मृग, कालिज, डाँफे तथा मुनाल र चौरी गाईसंगको सामिप्यतामा रमाउने अवसर समेत प्राप्त गर्दछन् । त्यसैले चुम उपत्यकालाई खुल्ला चिडियाखानाको रुपमा समेत लिइन्छ । यो दृष्य पनि म्युजिक भिडियोमा देखाइएको छ ।

चुम उपत्यकामा रहेको बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, चैत्य, स्मारक र तिब्बती सँस्कृतिको महत्व अलग्गै रहेको छ । चुम उपत्यका मु गुम्बा, राजेन आनी गुम्बा लगायत अन्य गुम्बाहरूका साथै प्राकृतिक सौन्दर्यताले भरिएको गणेश हिमाल श्रृखला, शृङ्गी हिमाल, ज्योडाला हिमाल, कुलापासाङ हिमाल र छेप्चे हिमालको दृष्यावलोकनका लागि समेत उपयुक्त क्षेत्र हो ।


प्रतिक्रिया