काठमाडौं। नेपाल पर्यटन बोर्डले ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तर्क्रिया कार्यक्रम शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गर्यो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित सरकारी निकायका अधिकारी, योजना आयोगका प्रतिनिधि, पर्वतारोही, महिला उद्यमी, पर्यटन व्यवसायी लगायतको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा महिला उद्यमशीलता सरकारको प्राथमिकता भएको उल्लेख गर्दै, "गाउँ गाउँमा महिला डिजिटल साक्षरतामा पुग्दा पर्यटन हाम्रो अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ," भनेका थिए। उनले सरकारी संयन्त्र र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
योजना आयोगकी सदस्य गीता कुमारी पौडेल अधिकारीले डिजिटल पहुँचमा महिलाको सहभागिता अझै कम भएकोले उनीहरूलाई प्रविधि तथा वित्तीय साक्षरतामा लैजानुपर्ने बताइन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी बस्नेतले महिलाको संख्या धेरै भए पनि न्यून ज्याला पाउने काममै सीमित रहेको उल्लेख गर्दै डिजिटल सिप र ब्राण्डिङमार्फत उनीहरूलाई नेतृत्वतर्फ ल्याउनुपर्नेमा जोड दिइन्।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले महिलाको संख्यात्मक सहभागिता राम्रो भए पनि गुणस्तरीय र नेतृत्वदायी भूमिकामा ल्याउन तालिम र सहुलियत आवश्यक रहेको बताए। बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा र उद्योग मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले आत्मनिर्भरता र नेतृत्व क्षमतामा ध्यान दिनुपर्ने धारणा राखे।
नाटाका जनसम्पर्क समिति प्रमुख युविका भण्डारीले डिजिटल पहुँच बिना महिला पर्यटनकर्मीहरू पछि परिरहेको बताउँदै डिजिटल खाडल कम गर्न अभियान आवश्यक रहेको बताइन्। महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले डिजिटल तालिमलाई सरकारी नीतिमा अनिवार्य बनाउन आग्रह गरिन्।
अन्य वक्ताहरू—जस्तै पूर्व एफएनसीसीआई अध्यक्ष बन्दना राणा, साहसिक पर्यटन अगुवा मीना बराल, डा. प्रीति बिष्ट, पर्वतारोही चोकी शेर्पा र जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठ—ले पनि महिलाको पर्यटन क्षेत्रमा योगदान, चुनौती, र अवसरका विषयमा आफ्ना दृष्टिकोण साझा गरे।
कार्यक्रमको समापनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले अतिथिहरूलाई धन्यवाद दिँदै, प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए।
यस अन्तर्क्रियाले डिजिटल युगमा महिलाको नेतृत्वदायी भूमिकालाई पर्यटनको केन्द्रमा राख्दै, नीति निर्माणदेखि कार्यान्वयनसम्म उनीहरूको सहभागिता अनिवार्य रहेको सन्देश दिएको छ।