पूर्वराजाको स्वागत कार्यक्रममा भएको फोहोरबापत राप्रपाले तिर्यो १ लाख रुपैयाँ जरिवाना

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा भएको फोहोरका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सोमबार महानगरको खातामा जरिवाना रकम दाखिला गरेका हुन्।

पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्कने क्रममा आयोजित स्वागत कार्यक्रममा सहभागी कार्यकर्ताले फोहोर गरेपछि काठमाडौं महानगरपालिकाले राप्रपालाई जरिवाना तोकेको थियो। उक्त जरिवाना तिर्दै प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका छन्। उनले लेखेका छन्, हामी राप्रपा सुशासन र विधिको शासन मान्छौं। राजाको स्वागतमा आएका लाखौं समर्थकहरू हिँड्दा बाटोमा केही फोहोर भएको हुनसक्छ। महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थान स्वच्छ राख्न विभिन्न समूहहरूलाई यसअघि पनि जरिवाना गर्दै आएको छ। राजाको स्वागत कार्यक्रममा फोहोर व्यवस्थापनमा कमजोरी देखिएको भन्दै महानगरले राप्रपालाई जरिवाना तिर्न निर्देशन दिएको थियो।

राप्रपाले पूर्वराजा शाहको काठमाडौं आगमनलाई भव्य रूपमा स्वागत गरेको थियो। उक्त कार्यक्रममा हजारौं समर्थक उपस्थित भएका थिए, जसका कारण केही स्थानमा फोहोर जम्मा भएको महानगरको दाबी छ। यस घटनालाई मध्यनजर गर्दै महानगरले सार्वजनिक स्थान स्वच्छ राख्न सबै राजनीतिक दल तथा नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया