काठमाडौँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविधुत केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ। केन्द्रका अनुसार १४ परिवारका जग्गा र ५ घरसहित ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो।
जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रूपैयाँ रकम प्रदान गरिएको कन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार जग्गाका लागि रू १७ करोड ८७ लाख ८६ हजार ६ सय ५२ र घर टहराका लागि ३ करोड ९० लाख ९९ हजार ३१५ रूपैयाँ वितरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी १ करोड ८४ लाख ९२ हजार ६८० रूपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो। आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए। अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन्।
केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ६९ मेगावाट विधुत उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको थियो।
मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका स्थानीयले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar