देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

नारायणगढ (रासस), २९ कात्तिकः पवित्र तिर्थस्थल देवघाटमा ‘देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८१’ गरिएको छ । नेपाल सन्त समाज देवघाटधामको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिका तनहुँ, भरतपुर महानगरपालिका चितवन र गैडाकोट नगरपालिका नवलपुरको समन्वयमा महोत्सव गरिएको हो । 

मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधामको धार्मिक महत्व एवं भौतिक विकासलाई संवर्धन गर्दै सन्तहरुको अगुवाइमा परम्परको निरन्तरतास्वरुप यो महोत्सव गरिएको गलेश्वर आश्रम देवघाटका महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीले बताउनुभयो ।  उहाँका अनुसार देवघाटधाम र यस आसपासका धार्मिक स्थलहरु समेट्दै आज गण्डकी परिक्रमा गरिएको हो ।

धार्मिक क्षेत्रको परिक्रमा गर्दा ८४ लाख जुनी पार गरेको सरह हुने महामण्डलेश्वर गिरीले उल्लेख गर्नुभयो । परिक्रमा देवघाटको तनहुँतर्फबाट वेणीसंगमहुँदै पशुपतिनाथ मन्दिर गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम, दुर्गा पाञ्चायन शक्तिपीठ, ,केदारेश्वर मन्दिरलगायत हुँदै चितवनतर्फ हुनेछ । 

चितवनको सङ्कल्पेश्वर हनुमान् मन्दिर, छेदेन थार्वलिङ् गुम्बा,  वागीश्वरी मन्दिर, योगी नरहरिनाथ आश्रम गौशाला, गणेशधाम, महाबौद्ध गुम्बा, गौरेश्वर शिव मन्दिर,  हरिहर मन्दिर नारायणगढहुँदै  नवलपुरतर्फ हुनेछ ।

त्यसैगरी गैंडाकोटको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, श्रीमद्रामानुज वेदविद्याश्रम, शुकदेव भागवताश्रम,  लक्ष्मी नृसिह दिव्यधाम मन्दिर , बेसक्याम्प केलादी क्षेत्र, हर्दी पछि पुनः तनहुँतर्फ देवपुर मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमहुदै परिक्रमा सकिने आयोजकले जनाएको छ । परिक्रममा हजारौको सहभागिता रहेको छ ।


प्रतिक्रिया