काठमाडौँ। घर सम्पत्ति मात्रै होइन, धेरैका लागि सपना पनि हो। त्यसैले सपनामा गरिने लगानी ठुक्का साथ गर्नुपर्छ। आजको लेखमा हामी घरको लालपूर्जा लिनुअघिका कानुनी प्रकृया देखि प्राविधिक पाटोबारे ७ महत्त्वपूर्ण कुराहरू बारे जानकारी दिने छौँ।
घर भएको स्थानः
आवासीय घरका लागि उपयुक्त स्थानको विशेष महत्व हुन्छ। यसले दैनिकीमा प्रत्यक्ष प्रभाव पार्छ। आफुलाई पायक पर्ने स्थान र अति आवश्यक सेवासुविधाहरू यातायात, विद्यालय, अस्पताल, बजार, र बैंकजस्ता कुराहरू नजिक हुँदा यसले समय र खर्चको बचत गरी जीवनशैली ढुक्क बनाउँछ।
घर बनेको माटोको प्रकृतिः
घर बनाउन बलौटे पत्थरिलो माटो उपयुक्त मानिन्छ। तर उपत्यकाको हकमा खासै बलौटे माटो नभएकाले पहिले पोखरी भएको जग्गामा माटो भरेर सम्याइ घर बनाइएको हुन सक्छ। यस्तो जग्गा झट्ट हेर्दा राम्रो र मिलेको देखिए पनि तुरून्तै घर बनाउन उपयुक्त हुँदैन। माटो पुरेको क्षेत्रमा कम्तीमा ६ देखि सात वर्षसम्म घर बनाउन मिल्दैन। घर बनाइयो भने दुई/तीन वर्षमा घर ढल्किले, चर्किने सम्भावना धेरै हुन्छ। यसो हुँदा घर बनेको जग्गाको माटो कस्तो छ सो कुरामा विशेष ध्यान दिनुपर्छ।
कानुनी परामर्शः
आफूले किन्न लागेको घर कानुनी रूपमा मान्यता प्राप्त छ वा छैन, राम्रोसँग बुझ्नु पर्छ। नक्साअनुसार घर बनाएको छ कि छैन त्यसमा पनि ध्यान दिनु पर्छ। घरसँग जोडिएको बाटो कस्तो भन्ने थाहा पाउनु पर्छ। मापदण्डअनुसार बाटो छोड्न जग्गा पर्याप्त छ कि छैन त्यसलाई विशेष ध्यान दिन जरूरी हुन्छ। त्यसैगरी घरसँग सम्बन्धित कुनै पनि कानुनी बाधा अड्चनहरू, घर धितोमा वा रोक्का छ कि छैन? घरको कर तिरेको छ वा छैन? जग्गा रैकर वा गुठीको के हो? घर जग्गामा मोहीको स्वामित्व छ वा छैन आदि सबै राम्रो कानून व्यवसायीसँग परामर्श गरेर कुनै कानुनी अड्चन छ कि छैन सुरूवात मै निर्धारण गर्नुपर्दछ। नत्र नबुझि घर किन्दा पछि समस्या र झन्झट आउन सक्छ।
छिमेकी कस्ता छन् त?
घर किन्दा सबैभन्दा ध्यान पुर्याउनुपर्ने विषय छिमेकी कस्ता छन्। छिमेकी नबुझी घर किनेर सर्दा भोलि पछुताउनु पर्ने हुन सक्छ। यदि तपाईंलाई घर मन पर्यो र किन्ने निर्णय गर्नुभयो भयो भने एक हप्तासम्म बिहान, दिउँसो र साँझ त्यो ठाउँमा पुगेर छिमेकीको बारेमा बुझ्दा राम्रो हुन्छ। आफु बस्ने ठाउँको छिमेकी राम्रो हुनुपर्छ। वरिपरिको समाज र त्यहाँ हुने गतिविधिहरू आफै गएर नियाल्नुपर्छ। घरमा महत्वपूर्ण समय बिताइन्छ। पुरै परिवारका सदस्यहरु बस्नुपर्ने हुन्छ। त्ययसैले आफू त्यो छिमेकमा मिलेर बस्ने वातावरण छ वा छैन राम्रोसँग विचार गर्नुपर्ने हन्छ। किन कि हामी सबैले आफ्नो घर भएको स्थान शान्त नै चाहन्छौँ।
इञ्जिनियरसँग परामर्श लिनेः
तपाईंले घर पनि छान्नुभयो र छिमेकी पनि बुझ्नुभयो। अब तपाईंले आफुले किन्ने निर्णय गरेको घरको इञ्जिनियलाई देखाएर राम्रोसँग ‘इन्स्पेक्सन’ गर्नुपर्छ। त्यो घरको स्ट्रक्चर कस्तो छ, कस्तो सामग्रीहरूको भएको भएको छ, कस्तो ठाउँमा बनाएको छ, कत्तिको बलियो बनाएको छ, कतै बिक्री गर्ने हिसाबले कमसल पो बनाएको छ कि, पानी चुहावट वा ड्रेनेजको समस्या र घरको चार किल्ला पनि ‘क्लियर’ छ वा छैन यकिन गर्नुपर्छ।
बिजुली र पानी कसको नाममा दर्ता छ चेक गर्नेः
नेपाल विधुत प्राधिकरणले विधुतको लाइन वितरण गर्दा घर एकजनाको नाममा भए पनि अर्कोको नाममा बिजुलीको लाइन दिएको हुन्छ। त्यसै गरी पानीको लाइन पनि कहिलेकाहीँ अर्कै व्यक्तिको नाममा दिइएको हुन सक्छ। घर किन्नु अगाडी बिजुली कसको नाममा दर्ता भएको छ चेक गर्ने र बिजुलीको बाँकी बक्यौता रकम चुक्ता भएको छ वा छैन चेक गरेर मात्र घर खरिद गर्नुपर्छ। पानीको लाइनको पनि बाँकी बक्यौता र लाइन धनीको नाम आफ्नो नाममा ल्याएर मात्र घर पास गर्नुपर्छ।
अस्थायी टहराहरूको नक्सा पास छ वा छैन
घर निर्माण सम्पन्न लिइसकेपछि पनि कहिलेकाहीँ कुनै घरधनीले अस्थायी टहराको नामका सानो तिनो अवैध संरचना निर्माण गरेको हुन सक्छ। उदाहरणका लागि राइट अफ वे मा पर्ने जग्गामा गार्डको लागि सानो क्वाटर वा शौचालय पनि बनाउने, छतमा प्री फ्याबका विभिन्न संरचनाहरू बनाउने क्रम बढेको छ। घर लिँदा यी अस्थायी संरचनालाई देखाएर मोलतोल गर्ने गरिन्छ। तर नक्सा पास गरेको छैन भने यस्ता संरचनाहरू पछि अवैध ठहरिन्छ र कुनै पनि बेला भत्किन सक्छ।
यस्तो घर तपाईँले लिनुभयो भने पछि नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ। त्यसैले घर किन्दा अस्थायी जस्ता देखिने संरचनाहरूको नक्सा पास छ कि छैन भन्ने कुरा पनि एकीन गर्न जरूरी हुन्छ।