सिमेन्ट जोडाइमा इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुहोस यी १० मुख्य कुराहरूलाई

काठमाडौँ।  नेपाल भूकम्पीय जोखिमको हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ। आजको लेखमा भूकम्प प्रतिरोधी घर बनाउँदा ध्यान दिनुपर्ने विषमा चर्चा गरिनेछ।

आगामी दिनमा हामी कस्तो घर निर्माण गर्ने? भूकम्प आफैँले मान्छे मार्दैन तर मानव निर्मित कमजोर संरचना भत्कँदा ठूलो जनधनको क्षति हुने भएकाले हाम्रो घर तथा बस्तीहरू भूकम्पीय दृष्टिकोणले सुरक्षित र मजबुत हुन जरूरी छ। 

२०७२ साल बैशाखको विनाशकारी भूकम्प र त्यसभन्दा पछि पनि साना र स साना भूकम्प तथा पराकम्पहरू जाने क्रम जारी नै छ। यसका साथै नेपालको पश्चिमी भूभाग जाजरकोट लगायतका क्षेत्रहरूमा मानविय क्षति भएको १ बर्ष बितिसक्यो। आज मंगलबार (२०८१ पौष २३ गते) पनि नेपालमा भूकम्पले बेस्सरी हल्लाएको छ सबैको मनमा डर र त्रास पैदा भएको अवस्था छ।  यस अघिका ठूला भूकम्पहरूबाट पाठ सिक्दै विपद् जोखिम न्यूनीकरण अझ विशेषगरी भूकम्पीय सुरक्षाका हिसावले पूर्व तयारीका योजना तथा भूकम्पीय जोखिमलाई घटाउन बस्तीहरू सुरक्षित गर्नुपर्ने आवश्यकतालाई आज समाजका हरेक तहमा महसुस गरिएको पाइन्छ। 

हामी आफैंले बनाएको संरचना कस्तो छ त?  के हाम्रो घर भूकम्प प्रतिरोधी छ वा छैन? भूकम्प प्रतिरोध घर बनाउन हामीले के के कुरालाई विशेष ध्यान दिनुपर्छ भने भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहने घरधनी, घर निर्माणमा संलग्न हुने डकर्मी लगायत निर्माणकर्मी, प्राविधिक एवं इन्जिनियरहरु तथा सामाजिक परिचालकहरूले झन बढी ध्यान दिन जरूरी छ। आजको लेखमा हामी तपाईंहरूलाई घरलाई प्रतिरोधी बनाउने बारे १० वटा कुराबारे जानकारी दिने छौँ। 

सिमेन्ट जोडाइमा इँटाको घरलाई भूकम्प प्रतिरोधी बनाउन ध्यान दिनुपर्ने १० मुख्य कुराहरूः 

१. निर्माण स्थलको छनौट र परीक्षण:  निर्माणका लागि उपयुक्त नहुने स्थानहरू पानी जम्ने स्थान, ढुङ्गा खस्ने स्थान, पहिरो जान सक्ने स्थान, माटो भरेको वा पुरूवा माटो भएको स्थान, नदीको बगर वा सीमसार क्षेत्र, स्थायी, सक्रिय तथा गहिरो भौगर्भिक चिरा भएको स्थान, भिरालो स्थान (अधिकतम २०‌° भिरालोसम्ममा मात्र निर्माण गर्नु उपयुक्त मानिन्छ), निर्माण स्थलको निरीक्षण गर्दा कम्तीमा २ वटा २ मिटरसम्म गहिरो खाल्डो खनी परीक्षण गर्ने र पहाडी क्षेत्रमा चट्टान भएको सतह भेटिएमा गहिराइ कम लिने। 

२. भवनको आकार प्रकार र नापः साधारण र नियमित आकारको जस्तै वृत्ताकार, आयातकार वा वृत्ताकार घर निर्माण गर्नुपर्छ, लामो र साँघुरो घर निर्माण गर्नु हुदैन, घरको लम्बाइलाई चौडाइको तीनगुणा

भन्दा बढी बढाउनु हुँदैन, असाधारण आकार जस्तैः L,C,T र I” आकारको घर बनाउनु हुदैन, र यदि बनाउनै परेमा त्यस्ता आकारलाई उपयुक्त ठाउँ छोडी साधारण आकारमा परिवर्तन गर्न सकिन्छ, उचाइमा पनि घरलाई जतिसक्दो होचो/सानो बनाउनु पर्छ र गारोमा सेटव्याक भने राख्नु हुदैन्।

३. निर्माण सामग्रीहरु इँटाः इँटाको बलियोपना एक तला निर्माणको लागि ३.५ एम.पि.ए. हुनुपर्छ, साथै २ तला सम्मको भवन निर्माणको सन्दर्भमा माथिल्लो

तलामा ३.५ एम.पि.ए. र भुईं तलाको लागि ५ एम.पि.ए. हुनुपर्छ, वा चिल्लो सतह भएको, चारकुना मिलेको, राम्ररी पोलिएको रातो, एउटै आकार भएको इँटा प्रयोग गर्नुपर्छ, इँटा ३ फिटको उचाइबाट ठाडो पारि खसालेर हेर्दा नफुट्ने बलियो हुनुपर्छ भने डण्डी खिया नलागेको हुनुपर्छ। 

४ जग लगाउँदा गारोवाला जग लगाउनुपर्दछ। माटो अनुसार जगको न्यूनतम नाप पहिलो १ तलामा ८०० मि मि को गहिराइ, ३०० मि मि उचाइ, नरम माटो भएको ठाउँमा ६५०, मध्यम माटो भएको ठाउँमा ५५० र कडा माटो ४५० मि मि को चौडाइ बनाउनु उपयुक्त हुन्छ। 

५ गारोः यदि गारोको लम्बाइ धेरै लामो भयो भने आड़ दिने गरी छुट्टै आड गारो  लगाउनुपर्दछ। यस्तो गारो ३ मिटर भन्दा टाढा राख्नु हुदैन्। यसको न्यूनतम मोटाइ मुख्य गारो बराबरको हुनुपर्दछ र आधारको न्यूनतम चौडाइ गारोको उचाइको १/६ भाग हुनुपर्दछ। साथै माथिको चौडाइ कम्तीमा गारो बराबर हुनु पर्दछ। चुली गारोले गारोको उचाइ बढाउने हुँदा सकेसम्म हलुका चुलीगारो (काठ वा जस्तापाताको) राख्नु राम्रो हुन्छ।

६ झ्याल र ढोकाहरूः हामीले झ्याल र ढोकालाई गारोको कुनाबाट कम्तीमा ६०० मि.मि. वा झ्यालढोकाको उचाइको १/४ हुनुपर्दछ, झ्याल र ढोकाको बीचमा कम्तीमा ६०० मि.मि. वा सानो झ्यालढोकाको उचाइको १/२ बराबरको गारो हुनुपर्दछ, एक तलाको निर्माण गर्दा झ्यालढोकाको लम्बाइ बढीमा गारोको लम्बाइको ५० प्रतिशत र २ तलाको हकमा ४२ प्रतिशत हुनुपर्दछ र सबै झ्यालढोकाको लागि सील र लिन्टेल एउटै तहमा हुनुपर्छ। 

७ गारो निर्माण गर्ने तरिका : गारो बनाउँदा ठाडो जोर्नीहरू एउटै सिधा ठाडो रेखामा नपर्ने गरी छलेर लगाउनु पर्छ, गारोको बीचमा र कुनामा दाँती बनाउन भन्दा खुड्किलो बनाई छोड्नु पर्दछ, एकपटकमा खुड्किलोको उचाइ ६०० मि.मि. भन्दा बढी भने उठाउनु हुदैन। 

८ तेर्सो पट्टीहरूः  भवनमा जग, जगको माथिल्लो सतह, झ्यालढोकाको तल्लो र माथिल्लो सतह, चुली गारोको भिरालो सतह, भुइँको सतह र छानाको सतहमा पूरै गारो भरि तेर्सो पट्टीहरू दिनुपर्दछ, सुर र जोर्नीमा उचाइ तर्फ ५०० देखि ७०० मि.मि. को दूरीमा स्टीचको प्रयोग गर्नुपर्दछ। 

९ ठाडो फलामे डण्डीहरूः झ्याल, ढोकाको कमजोर ठाउँहरू जस्तै जोर्नी, कुना र झ्याल ढोकाको छेउमा ठाडो फलामे डण्डीहरू हाल्नु उपयुक्त हुन्छ, ठाडो फलामे डण्डीहरू जगबाट सुरू भई छानाको सतहसम्म पुर्याउनुपर्दछ, यस्ता डण्डीहरू तेर्सा पट्टीहरु राम्रोसँग बाँधिएको हुनुपर्छ, ठाडो फलामे डण्डीहरूको नाप तलको तालिका बमोजिम हुनुपर्दछ। 

१० छाना र तल्लाहरूः छाना र तल्लाहरू सकेसम्म ढलाने भुईं र छाना लगाउनु पर्छ, लचकदार छाना लगाउनु पर्दा जस्तापाता जस्ता हलुका सामान प्रयोग गर्नुपर्दछ, छाना तथा तल्लाहरू गारोसँग उपयुक्त तरिकाले बाँधेको हुनुपर्दछ भने चौकुने बन्धन पनि राख्दा घर झनै सुरक्षित हुन्छ। 

घर बनाउँदा यी कुराहरूलाई ध्यान दिन सकियो भने भूकम्पको जोखिमबाट धेरै हदसम्म सुरक्षित रहन सकिन्छ। 

प्रतिक्रिया