कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम सञ्चालन हुँदै

काठमाडौँ।  अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ। 

अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत सहभागितामा आगामी मङ्सिर २ गतेदेखि पुसको दोस्रो हप्तासम्म उक्त कार्यक्रम हुने भएको हो। झापा, ताप्लेजुङ र तेह्रथुमका स्थानीय तहको प्रत्येक वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि शिविर आयोजना गर्ने तयारी भइरहेको करुणा फाउण्डेसन नेपाल कोशीले जानकारी दिएको छ। 

कार्यक्रममा नवजात शिशु, १० वर्षमुनिका बालबालिकाको परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, श्रवणयन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध हुने छ। २०७८ को जनगणनाअनुसार झापामा २३ हजार ९ सय ८८ अपाङ्गता भएका व्यक्ति छन्। जसमा ९ हजार ५ सय ५९ जनाले परिचयपत्र लिइसकेका छन्।

झापाका पालिकामा १३ हजार ३ सय ६४ जनाको लगत सङ्कलन गरिसकेको र उनीहरूलाई सेवा प्रदान गर्ने तयारी भइरहेको जनाएको छ। अर्जुनधारामा १ हजार २ सय ९०, कनकाईमा ७ सय ३८, गौरादहमा ६ सय ६३, दमकमा १ हजार ७९, बिर्तामोडमा ७ सय ८९, भद्रपुरमा ९ सय १३, मेचीनगरमा १ हजार सात सय ४४ र शिवसताक्षी नगरपालिकामा ८ सय ३ जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन भइसकेको छ।

यसैगरी, कमलमा ८ सय ८९, कचनकवलमा ९ सय ६, गौरीगञ्जमा ६ सय ३९, झापामा ५ सय २२, बाह्रदशीमा ८ सय ९९, बुद्वशान्तिमा ८ सय ७६ र हल्दिबारी गाउँपालिकामा ६ सय १३ जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिएको छ। आगामी मङ्सिर २ देखि ८ गतेसम्म बाह्रदशी गाउँपालिका र ३ देखि १२ गतेसम्म भद्रपुर नगरपालिकामा शिविर हुने मिति तय भइसकेको छ।

कार्यक्रमबाट नवविवाहित दम्पती, नवजात शिशु, १० वर्षमुनिका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक र उनीहरूका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिका संस्था र समूह लाभान्वित हुने भएका छन्।    

प्रतिक्रिया