देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा, चट्याङ र हल्का हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा देखिएको छ।

कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो पनि कोशी र मधेश प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ।

यसैगरी, कोशी, मधेशसहितका पहाडी भूभागका थोरै स्थानहरू र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। बुधबार पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया