घर बनाउँदा कस्तो पाइप छनौट गर्ने?

काठमाडौँ।  हरेक व्यक्ति अर्थात मानिसलाई सानै भए पनि किन नहोस आफ्नै घर बनाएर बसौँ भन्ने चाहना हुन्छ। 

अहिले घर बनाउने प्रक्रिया दिन प्रतिदिनै झन्झटिलो र खर्चिलो हुँदै गइरहेको छ। अधिकांश मानिसका लागि घर भनेको जिन्दगीभरिको पुँजी हो। त्यसैले घर बनाउँदा धेरै कुरामा विचार पुर्‍याउनु पर्छ। 

त्यसमध्ये विशेष ध्यान दिनुपर्ने विषय रहेको छ पाइपको सहि छनोट। घर बनाउँदा पाइपको छनोट गर्नु चुनौतीको विषय नै हो। सही पाइप छनोट नगर्दा आफूले बनाएको घरलाई हानी त पुर्याउँछ नै यसका साथै जीवनभरको पुँजी बर्बाद हुन सक्छ। सही पाइपको छनोट भएन भने पानी चुहिने, बारम्बार बिग्रने हुन्छ। जसका कारणले घरको भित्ता फोड्नुपर्ने हुन्छ। यसो गर्दा घरको सौन्दर्य नै बिग्रन सक्छ।  

घर बनाउँदा तपाईंले छनोट गर्नुभएको पाइप यदि राम्रो परेन भने तपाईं र तपाईंको परिवारलाई धेरै असर पुर्याउन सक्छ।  त्यसैले पाइप छनोट गर्नको लागि प्लम्बरमा मात्र भर पर्नु हुँदैन आजभोली यस्तो छनौटका लाग प्लबरलाई जिम्मा दिन प्रचलन बढ्दो छ। राम्रो गुणस्तरको पाइप छनोट नगर्दा समस्याहरु देखापर्छन्। पाइपको चयन गर्दा चाप र तापक्रमलाई सहन सक्ने क्षमता भएका पाइपको प्रयोग गर्नुपर्छ। कहाँ र कस्तो अवस्थामा कुन पाइपको जडान गर्नुपर्छ भन्ने कुरा घर धनीलाई ज्ञान हुनै पर्छ। 

पाइप सम्बन्धी आउने प्लम्बिङका समस्याहरू दैनिक रूपमा आइपर्दैनन्। तर पनि बेलैमा ध्यान नपर्‍याउँदा यसले निकै ठूलो खर्च निम्त्याउन सक्छ अर्थात यसलाई पुनः मर्मत गर्दा खर्चिलो हुन् जान्छ। त्यसैले पाइपको बारेमा जानकारी राख्नु सबैको लागि आवश्कय छ।

हरेक कम्पनीको पाइपहरुमा केही न केही समस्या आउनु स्वाभाविक हो तर समयमै ती समस्याहरूलाई समाधान गरियो भने ती पाइपहरूको पूर्ण उपयोग गर्न सकिन्छ। हेल्चेक्र्याइँ गरियो भने पछि पाइपमा समस्या आउँदा फेरि सबै तोडफोड गरेर मर्मत गर्नुपर्ने अवस्था आउँछ।

वर्तमान अवस्थामा नेपालमा धेरै कम्पनीका विभिन्न किसमका पाइपहरू बजारमा पाउन सकिन्छ।  नेपालमा एउटा राम्रो घर बनाउनको लागि बजारमा सजिलै उपलब्ध हुने, चाप धान्न सक्ने, बलियो, टिकाउ पाइपको छनोट गर्नुपर्छ। छनौट गरिएको पाइप के कत्तिको राम्रो छन् भन्ने कुरा पाइपमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग हुने प्रविधि र आधिकारिक गुणस्तर चिन्ह प्राप्त गरेको छ वा छैन भन्ने कुराको जानकारी भएमा पछि आउने सम्भावित समस्याबाट छुटकारा पाउन सकिन्छ।

पाइपका विभिन्न प्रकार र तिनीहरुको विशेषता अनुसार पाइपलाई प्रयोग गरियो भने यी समस्याहरू स्वत निकै कम भएर जान्छन् उदाहरणको लागि खानेपानी प्रयोजनको लागि किचन र बाथरूममा सीपीभिसी पाइप प्रयोग गर्न उचित हुन्छ। तर सोही पाइपलाई ढल निकासका लागि प्रयोग गर्‍यौँ भने त्यसले राम्रो नतिजा दिँदैन र फेरि पाइपमा समस्या आउँछ र त्यसलाई परिवर्तन गर्नुपर्ने हुन्छ।

नेपाली घरहरुमा सबैभन्दा बढी आउने सामान्य समस्या भनेको चुहावट हो, जुन प्लम्बिङको डिजाइन नमिलेर, फिटिङ्स राम्रोसँग नजोडेर, कम गुणस्तरको पाइप प्रयोग गर्नाले वा पाइपमा काँटीजस्तो धारिलो चिजले हानी पुर्‍याएका कारणले हुने गर्दछ।

पाइप चुहावटले घरको आयु घटाउनुको साथै भित्ताबाट पानी चुहिने, भित्ता बिग्रिने, ढल्ने, भित्तामा ओसलाग्नेजस्ता समस्या पनि निम्त्याउँछ। यस्ता समस्याहरू आउन नदिन घर बनाउनु अगाडि नै सम्भव भएसम्म स्यानिटरी इन्जिनियरलाई अथवा प्लम्बिङ दक्षता हासिल गरेको अनुभवी प्लम्बरलाई बोलाएर नक्सा तयार पार्नु उचित हुन्छ। 

नक्सा तयार भइसकेपछि नक्साअनुसार नै गुणस्तरीय पाइप छनोट गरेर प्लम्बिङ गर्नुपर्छ र काम नसकिएसम्म काममा खटिएका प्लम्बरहरुको काम गर्ने तरिका र सीपको आफूले निरीक्षण गरिरहनुपर्छ। प्लम्बिङको काम सकिएपछि अनिवार्य रुपमा प्रेसर टेस्टिङ गर्नुपर्छ भने जथाभावी रूपमा भित्तामा काँटी ठोक्नु हुँदैन। यदि भित्तामा केही ड्रिल गर्ने अथवा किला ठोक्ने काम परेमा पाइप नभएको ठाँउमा गर्नुपर्छ।

प्रतिक्रिया