काठमाडौँ। सिरहाको लहान नगरपालिका–१५ का ३ वटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रू २ लाख मूल्य बराबरका कृषि सामग्री प्रदान गरिएको छ।
लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री नगरप्रमुख महेशप्रसाद चौधरीले किसानलाई हस्तान्तरण गरे।
कृषि सामग्रीमा ११ प्रजातिका तरकारीको बीउ, इलेक्ट्रिक स्प्रेयर, ड्रम, समरसेवल मोटर, पिभिसी पाइप, डेलिभरी पाइप र झोल मल बनाउने सामग्रीलगायत छन्। उक्त जैविक झोल मलले कुनै रासायानिक मल र विषादीको आवश्यक्ता नपर्ने बताइएको छ।
कृषि सामग्री वितरणपछि किसानको व्यावसायिक खेतीप्रणालीको प्रवर्द्धन हुनुका साथै विषादीरहित तरकारी उत्पादनले मानव स्वास्थमा सकारात्मक प्रभाव पार्ने नगरप्रमुख चौधरीले बताए। “कृषि क्षेत्रको विकास गरी समुन्नत नगर बनाउने लक्षसहित विभिन्न संस्थाको सहकार्यमा किसानलाई सहयोग गरिरहेका छौँ। यी सामग्री पनि यसैको निरन्तरता हो”, नगरप्रमुख चौधरीले भने, “यी वातारणमैत्री कृषि सामग्रीले उत्पादन अभिवृद्धिका साथै आम उपभोक्ताको स्वास्थ्यमा कुनै हानी गर्नेछैन।” कृषिको व्यावसायीकरण र बजारीकरणलाई नगरपालिकाले प्राथमिकता दिएको पनि नगरप्रमुख चौधरीले जानकारी दिए।
त्यसैगरी कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिए।
संरक्षण परियोजनाअन्तर्गत स्थानीय किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विगत एक वर्षदेखि लहानका ९ वटा सामुदायिक वन र ३२ वटा कृषक समूह निर्माण गरी सात सय ५० घरपरिवारमा प्रत्यक्ष जोडिएर काम गरिरहेको कार्यक्रमका व्यवस्थापक जगदीश भट्टले जानकारी दिए। यसअन्तर्गत वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रण रहेका छन्। त्यसैगरी स्थानीय किसानको आयआर्जनका लागि माछापालन र पशुपालनमा पनि जोड दिइएको छ।
रासस
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar