काठमाडौँ। झापा जिल्लाको बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन्। यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ नै हो।
कुमाल समुदायसँग पुख्र्यौली रुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ। तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन्। युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन्।
स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरो र गाग्री कोसी प्रदेशका १४ वटै जिल्लामा पुर्याइने बताए। “दिनरात मेहनत गरिरहेका छौँ”, उनले भने, “तराई र पहाडका सबैजसो बजारमा पुर्याउँछौँ।”
बाह्रदशीमा कुमाल समुदायका ६० परिवारले यस वर्ष रु १ करोडभन्दा बढी मूल्यको माटाका सामग्री बिक्री गर्ने लक्ष्य लिएका छन्। खेतीपातीले मात्र जीविका नचल्ने भएकाले छोराछोरीको पढाई र अन्य खर्च धान्न माटाका भाडावर्तन बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिइएको चम्पादेवीले बताइन्। यसले पेसा संरक्षण हुनुका साथै पुस्तान्तरण पनि हुँदै जाने उनले उल्लेख गरिन्।
उनले पछिल्लो समय आयातीत विधुतीय सामग्रीका कारण माटाका सामग्रीको असर बजारमा परेको बताइन्। यहाँ हरेक परिवारले २ लाखका दरले पाला लगायत माटाका सामान बनाउने गरेका छन्। कुमाल समुदायले उत्पादन गरेका सामग्री व्यवसायीले घरैबाट खरिद गरेर लैजाने गरेका छन्।
अमितकुमार पण्डितले भदौदेखि तिहारलाई लक्षित गरेर पाला, कलश र धुपौराहरु बनाउन थालेको बताए। उनले झापाका अन्य पालिकामा कुमाल समुदायको पातलो बसोबास रहेको भन्दै बाह्रदशीमा सबैभन्दा बढी ६० परिवार रहेका जानकारी दिए।
कुमाल गाउँका हरेक आँगनमा यतिबेला माटोबाट बनाइएका पाला घाममा सुकाइएको दृश्य मनमोहक देखिन्छ। दीपावलीदेखि छठ पर्वसम्म उनीहरुले बनाएको पाला बिक्री हुने गर्दछ। कुमाल केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रबाट माटाका भाडावर्तन बनाउने गर्दथे। तर हाल मोटरबाट चल्ने विधुतीय चक्रबाट सामग्री बनाउने गरिएको छ।
पाला बनाउने माटो आफैँले किनेर ल्याउनुपर्ने भन्दै माटो महँगिएका कारण उत्पादित सामग्रीबाट धेरै मुनाफा नहुने उनको गुनासो छ। एक टिपर माटो खरिद गर्न रू १० देखि १२ हजार तिर्नुपर्ने पण्डितको भनाइ छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar