काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव व्यापक रूपमा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहनुका कारण विशेषगरी पहाडी भेगहरूमा आंशिकदेखि साधारणतया बदली र केही स्थानहरूमा वर्षा भइरहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा, बाँकी क्षेत्रहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आगामी २४ घण्टाका लागि सतर्कता तथा पूर्वानुमान
मौसम विभागले दिएको जानकारीअनुसार, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।