काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मुख्यतया स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपासको न्यून चापीय रेखाको प्रभाव देखिएको छ। यस प्रभावका कारण हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ। यस्तै, आज आइतबार कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानहरूमा समेत मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि प्रबल रहेको मौसमविद्हरूले बताएका छन्। सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा यस्तै प्रकारको मौसमी गतिविधि रहने जनाइएको छ।
मौसममा देखिएको यस परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। जलवायु परिवर्तन र वायुमण्डलीय प्रणालीको प्रभावले मौसम अझै केही दिन अस्थिर रहने अनुमान गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar