घर जग्गा बैना गर्दै हुनुहुन्छ? ध्यान दिनुहोस यी कुराहरूमा (बैना कागजको नमूनासहित)

काठमाडौँ। यदि तपाईंले कुनै पनि घरजग्गा किन्दै हुनुहुन्छ भने सुरूमा केही रकम बैनावापत बिक्रेतालाई दिनुपर्ने हुन्छ। 

यसरी बिक्रेतालाई केही रकम दिएपछि त्यसको बैनाबट्टा कागज (तमसुक) पनि लेख्नुपर्ने हुन्छ। तमसुक नगरी बैना रकम दिएमा पछि बिक्रेताले जालझेल गरेमा कानूनी लडाईं लड्न पाइँदैन।

बैना कागज लेख्दा निकै विधि पुर्याएर लेख्नुपर्ने हुन्छ। एक ठाउँमा मात्र पनि चुकियो भने तमसुक कमजोर बन्छ। पछि केही गरी बिक्रेताले घरजग्गाको राजिनामा पास गरिदिएन र बैना रकम पनि दिन मानेन भने आफू कानूनी लडाईमा जानुपर्ने हुन्छ। कानूनी उपचार खोज्न जाँदा तमसुकमा आफु चुक्ने ठाउँ राख्न हुँदैन। त्यसैले चिनजानको भरपर्दो लेखनदासलाई तमसुक लेख्न लगाउँदा ढुक्क हुन सकिन्छ। 

यो लेखमा हामी तपाईंलाई बैनाबट्टाको तमसुक लेख्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा जानकारी गराउँदै छौं।

बैना कागज अर्थात तमसुक लेख्न कस्तो कागजको प्रयोग गरिन्छ भन्नेमा कसैलाई दुविधा भएको पनि हुन् सक्छ। बैना रकमको तमसुक नेपाली कागजमा लेखिन्छ। सामन्यतया सबै किसिमका कानूनी कुराहरू नेपाली कागजमा लेख्नुपर्ने चलन छ। त्यसैले तपाईंले बैना गर्नुभन्दा पहिला ए–फोर साइजको नेपाली कागज किन्नुपर्छ। वा, तपाईंको लेखनदासले नेपाली कागज आफ्नो साथमा राखेको पनि हुनसक्छ।

बैना कागजमा लेख्दा पनि रित पुर्याएर लेख्नु पर्नेहुन्छ। तमसुक लेख्दा माथिपट्टी एक इञ्च, बायाँपट्टी डेढ इञ्च र पुछारमा १ इञ्च छाडेर लेख्नुपर्ने हुन्छ। 

नेपाली कागजको एक साइडमा मात्र तमसुक लेख्नेगर्नुपर्छ । किनभने, कानूनी कुराहरु जहिले पनि नेपाली कागजको एक साइडमा मात्र लेखिने गरिन्छ। अझ पछिल्लो समयमा बैना कागजको तयारी नमूना नै पाइन्छ। नमूनामा सम्बन्धित विवरण भरेमात्र पुग्छ।

तमसुक लेख्दा कालो मसिको प्रयोग गर्नुपर्ने हुन्छ। कालो नउड्ने खालको मसी प्रयोग गरेर लेख्दा बढी सुरक्षित भइन्छ। लेख्दा केरमेट पनि गर्नु हुँदैन। जहाँ केरमेट वा दोहोर्याएर लेखिन्छ, त्यहाँ हस्ताक्षर वा औंठाछाप लगाउनु पर्दछ। यसका साथै कम्प्युटरमा युनिकोडमा तमसुकको नमूना टाइप गरेर नेपाली कागजमा प्रिन्ट गरी हस्ताक्षर वा औंठाछाप पनि लगाउन सकिन्छ।

बैनाको तमसुक लेख्न सुरू गर्दा ‘लिखितम धनीका नाममा’ भनेर लेख्न सुरु गर्नुपर्छ। र, जग्गा बिक्री गर्न लागेका व्यक्तिको तीन पुस्ता (हजुरबुवा, बुवा र जग्गाधनीको नाम) तमसुकमा लेख्नुपर्ने हुन्छ। अनि जग्गाधनीको स्थायी (नागरिकतामा उल्लेख) ठेगाना र हाल बसिरहेको ठाउँको डिटेल्स पनि लेख्नुपर्छ।

जग्गाधनीको तीन पुस्ते र ठेगाना लेखिसकेपछि उसको नागरिकता नम्बर र उसको उमेरलाई पनि गर्न भुल्नुहुँदैन।

सबै कुरा लेखिसकेपछि जग्गाधनीले बिक्री गर्न लागेको जग्गाको स्थान, कित्ता नम्बर, जग्गाको क्षेत्रफल उल्लेख गर्नुपर्छ। जग्गाको क्षेत्रफल पहाडमा भए आना, रोपनी र धेरै जग्गा रहेमा बिघामा उल्लेख गर्ने चलन छ। तराईतिर धुर, कठ्ठा विघामा उल्लेख गर्ने चलन छ। आफ्नो ठाउँको चलनचल्तीमा भएअनुसारले तमसुकमा लेख्नुपर्ने हुन्छ।

जग्गा बिक्री गर्नेको विवरण लेखिसकेपछि अब किन्ने मान्छेको विवरण उल्लेख गर्नुपर्छ। खरिदकर्ताको तीन पुस्ता (हजुरबुवा, बुवा र खरिदकर्ता) को नाम, स्थायी ठेगाना (नागरिकतामा उल्लेख), हाल बसिरहेको ठाउँ, नागरिकता नम्बर, उमेर उल्लेख गर्नुपर्छ। 

तमसुकमा खरिद–बिक्री गर्न लागेको जग्गाको प्रतिआना यति मूल्यमा (अंक र अक्षरमा), जग्गाको क्षेत्रफलअनुसार कुल मूल्य (अंक र अक्षरमा) मा घरजग्गा खरिद गर्न फलानो व्यक्ति (खरिदकर्ताको नाम) सहमत भएको भनेर उल्लेख गर्नुपर्छ। 

तमसुकमा खरिदकर्ताले बैनाबट्टा बापत दिएको रकम अंक र अक्षरमा लेखी बिक्रीकर्ता (घरजग्गाधी) ले बुझिलिएको भनेर उल्लेख गर्नुपर्छ। तमसुकमा बैना रकम उल्लेख गरेपछि बाँकी दिन रकम पनि उल्लेख गर्नुपर्छ। यदि बैना रकम चेकबाट दिइएको हो भने चेकमा उल्लेखित नम्बर पनि लेख्दा राम्रो हुन्छ। तमसुक लेख्दा साक्षी पनि राख्नु पर्दछ। 

तमसुकमा जग्गा कति दिनभित्रमा पास गर्ने सहमति भएको हो त्यो पनि उल्लेख गर्नुपर्दछ। सामान्यतया बैना गरेको ३५ दिनभित्र जग्गाको कारोबार क्लियर गरी राजिनामा पास गरिदिनुपर्ने चलन छ। 

प्रतिक्रिया