काठमाडौँ। पछिल्लो समय तराई क्षेत्रमा घर लिफ्टिङ गरेर घरलाई माथि उठाउने प्रचलन बढ्दै गइरहेको छ। सडक नजिक पर्ने तथा डुबान र बाढीको समस्या भएका घरहरूमा हुने संरचनागत क्षति कम गर्नका लागि यो प्रविधिको प्रयोग बढेको हो।
विशेषगरी तराइ क्षेत्र विराटनगर, जनकपुर, वीरगञ्ज लगायतका शहरहरूमा यो प्रविधिको प्रयोग भइरहेको पाइन्छ। नेपालमा हालसम्म यो प्रविधिबाट करिब १५० भन्दा बढी घरहरू उठाउने र सार्ने कार्य भइसकेको छ।
घर लिफ्टिङ भनेको के हो त?
घर लिफ्टिङ भनेको घरको सम्पूर्ण संरचनालाई सुरक्षित रूपमा समान उचाइमा उठाउने प्रक्रिया हो। घर लिफ्टिङ गर्दा भवनको तलको भागलाई नष्ट नगरी संरचनालाई सिधै उठाइन्छ। जसकारण भवनको फाउन्डेसन मर्मत वा सुधार गर्न सहज हुन्छ।
कहिलेबाट सुरू भयो त घर लिफ्टिङको प्रचलन?
घर लिफ्टिङको अवधारणा सर्वप्रथम १८५०/६० को दशकमा संयुक्त राज्य अमेरिकाको शिकागोबाट आएको मानिन्छ। त्यतिबेला शिकागो शहर बाढी र जलनिकासको समस्याले ग्रसित थियो। जलनिकास समस्याका कारण बाढीको जोखिम बढेपछि जेम्स बोगार्डस र जोन बी. जेर्विस जस्ता इन्जिनियरहरूले भवनको तल्लो संरचनालाई सुरक्षित रूपमा उठाएर जलनिकास प्रणाली सुधार्ने योजना बनाए । सोही अनुरूप यो प्रविधि विकास भयो । यसरी लिफ्ट गरिएका ठूला भवनहरूमा ब्रिग्स हाउस होटल र द ट्रेमन्ट हाउस प्रमुख थिए। शिकागोमा सफल प्रयासपछि यो प्रविधि विश्वभरका बाढी प्रभावित क्षेत्रहरूमा बिस्तार हुँदै गयो। १९६० को दशकमा यो प्रविधिले आधुनिक रूपमै व्यावसायिक रूप लिन थाल्यो।
कसरी गरिन्छ घरलाई लिफ्टिङ?
घर लिफ्टिङ गर्नुअघि भवनको अवस्थाको चेकजाँच गरि भवन लिफ्टिङका लागि उचित छरछैन भन्ने यकिन गरिन्छ। यदि घर लिफ्टिङका लागि उचित भएमा लिफ्टिङ प्रकृया अघि बढाउन सकिन्छ। जसका लागि घरको चारैतिर खनेर अस्थाई सपोर्ट राखिन्छ। सपोर्टका लागि विशेष खालको हाइड्रोलिक ज्याकको प्रयोग गरिन्छ। यो ज्याकले घरलाई स्थिर राख्न र बिस्तारै घरलाई उठाउनका लागि मद्दत गर्दछ।
घर लिफ्टिङ गर्दा घरको बेसमेन्टमा हाइड्रोलिक ज्याक प्रयोग गरी सावधानीपूर्वक उठाइन्छ र नयाँ जग निर्माण गरी घरलाई सोही स्थानमा पुनः स्थापित गरिन्छ। यो प्रविधि घर पुनःनिर्माणको तुलनामा सस्तो हुने भएकोले धेरै प्रभावकारी मानिन्छ। नेपालमा मुख्यतया भारतीय प्राविधिकहरूसँग मिलेर यो कार्य भइरहेको छ। यो प्रविधि नेपालमा हालैका वर्षहरूमा मात्र भित्रिएको पाइन्छ।