यस्ता छन् घरजग्गामा प्रयोग हुने २१ भूमि शब्दावलीहरू

काठमाडौँ।  सामान्यतया घरजग्गाको क्षेत्रलाई सबैले बुझेको हुन्छ।  यद्यपि यस क्षेत्रमा प्रयोग हुने औपचारिक शब्दावलीहरू बारे भने मानिसहरू दुविधामा पर्ने गरेका हुन्छन्। 

बुझ्नलाई गाह्रो हुने शब्दावलीको प्रयोगले सेवाग्राही र सेव प्रदायकबीच असमझदारीता निम्त्याउन पनि सक्छ। त्यसैले घरजग्गा क्षेत्रमा प्रयोग हुने गरेका जटिल शब्दलाई आजको लेखमा सरलीकरण गरि यहाँ उल्लेख गरिको छः 

थैलीः घरजग्गा किन्दा अथवा बेच्दा मालपोतमा खुलाउने कारोबार रकम नै थैलि रकम हो।  

फिल्डबुकः जग्गाको नापीका लागि प्रयोगमा ल्याइएको किताबलाई फिल्डबुक भनिन्छ। 

सँधियारः आफ्नो घर(जग्गाको साँधमा घर-जग्गा भएको वा सिमाना जोडिएको व्यक्ति तथा छिमेकी सँधियार हुन्। 

अधोभूमिः घरको भुइँतला, छिडीभन्दा मुनितिरको कोठा–चोटा, तल्लो भुइँ, होचो जमिनलाई अधोभूमि भनिन्छ। 

अपुतालीः छोरा छोरी वा सन्तान नभएका व्यक्तिको जायजेथा सम्पत्तिको उपभोग गर्ने निकटतम व्यक्ति वा उत्तराधिकारी नहुने व्यक्तिको सम्पतिलाई अपुताली भनिन्छ। मृतकको ऋण धन वा सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्यलाई कानूनले अपुताली भनी उल्लेख गरेको छ।

अबण्डाः सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागवण्डा लगाउने प्रक्रियालाई अंशबण्डा भनिन्छ।

अबादः बाँझो जग्गामा खनजोत र खेतीकिसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम। 

अष्टलोहः बाचुञ्जेल पालन पोषण गर्ने र मरे पछि बाँकी रहेको सबै चलअचल सम्पत्ति खान पाउने गरी दिइएको लिखत।

खर्कः गाईवस्तुको गोठ राख्न र चराउन राखिएको बाँझो जग्गा। 

तरेलीः भिरालो जमिन।

दशगजा क्षेत्रः दुई देशबीचको सीमारेखाबाट दुवैतर्फ १०र१०गज चौडा खाली छाडिएको जमिनको भाग। अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार यस्तो दशगजा क्षेत्र कुनै पनि देशको स्वामित्व रहेको मानिँदैन।

दायः अंशियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति। 

दायादः कुनै व्यक्तिको मृत्युपछि उसका सम्पत्तिको पहिलो हकदार।  

दायादाः मृतकको सम्पत्तिको पहिलो हकदार स्त्री।  

नक्सा ट्रेसः  सक्कल नक्सालाई पारदर्शी कागजमा उतारी ट्रेस गरी तयार गरिएको दोस्रो प्रति। 

नापी खेस्राः नापीको समयमा स्थलगतरूपमा तयार गरिने नक्सा। 

नालिसः  कुनै व्यक्ति वा संस्थाद्वारा आफुमाथि अन्याय भएको लागेमा उचित दण्ड– सजाय वा क्षतिपूर्तिका निम्ति अदालत वा सम्बन्धित अधिकारीसमक्ष गर्ने रीतपूर्वकको उजुरी, फिराद, इजहार, नालेस। 

पर्ती जग्गाः बाँझो, खेतीपातीमा चल्ती नभएको जग्गा।

पोतः जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर, जग्गाको कर, तिरो, कुत। 

रैकर जग्गाः साविकदेखि लगत र भोगको आधारमा तोकिए बमोजिमको तिरो राज्यलाई बुझाउँदै आएको जग्गा। 

लम्बरी जग्गाः दर्ता भएको जग्गा, नम्बरी जग्गा, रैकर जग्गा। 

प्रतिक्रिया