काठमाडौँ। यदि तपाईंले घरजग्गा भाडामा लिँदै वा दिँदै हुनुहुन्छ भने बहाल सम्झौता अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ।
बहाल सम्झौतापत्रमा लिने दिने दुबै पक्षले मञ्जुरी गरी हस्ताक्षर वा औंठाछाप लगाउनुपर्ने हुन्छ। सरकारले बनाएको घरबाहल सम्बन्धी व्यवस्थालाई पालना गरी बहाल सम्झौता गरेपछि भाडामा लिने वा दिने दुबै पक्ष ढुक्क हुन सकिन्छ।
नेपाल कानून आयोगको परिच्छेद ९ मा घरबहाल सम्बन्धी कानूनी मापदण्ड तोकिएको छ। घर बहालसम्बन्धी व्यवस्थाअनुसार कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम (भाडा-बहाल) लिने गरी निश्चित समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिनुलाई बहालमा दिएको मानिन्छ।
कानूनी व्यवस्था अनुसार कसैले पनि मानिस बसोबास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन। घर बहालको अवधि समाप्त भएपछि घर बहालमा लिने वा दिने व्यक्तिहरूले सहमतिमा त्यस्तो अवधि पटक–पटक थप गर्न सक्नेछन्।
हामी तपाईंलाई बहालको करारनामा पत्र लेख्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा यहाँ जानकारी गराउँदै छौं।
सम्झौतापत्रमा ध्यान दिनुपर्ने कुराहरू
कुनै पनि व्यक्तिले घर बहालमा दिँदा देहायका कुराहरू खुलाई बहालमा लिने व्यक्तिगसँग लिखित सम्झौता गर्नुपर्दछ।
घर बहाल लिने र दिने व्यक्तिको तीन पुस्ते खुल्ने गरी पुरा नाम, ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र
घर रहेको ठाउँ अर्थात जिल्ला र जग्गाको कित्ता नम्बर
बहालमा लिने प्रयोजन
बहाल सुरू हुने मिति
बहाल कायम रहने अवधि
मासिक बहाल रकम
बहाल बुझाउने समय र प्रकृया
घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन आदिको महशुल बुझाउने दायित्व
घर बहाल कर भुक्तानी गर्ने कुरा
बहालमा लिएको घरको बीमा गर्नुपर्ने भए सो सम्बन्धी कुरा
बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा
बहालमा लिएको घर अन्य व्यक्तिाई बहालमा दिन पाउने वा नपाउने कुरा
घरको बार्षिक रूपमा बहाल रकम बढाउने वा नबढाउने, बढाउने भए यति प्रतिशतले बढाउने भनेर खुलस्त पार्ने
घर बहालको करारनामा गर्दा घरधनीलाई भाडावालले दिएको अग्रिम रकम खुलाएर लेख्ने
सम्झौता पत्रका शर्तहरू थपघट तथा संसोधन गर्नुपर्ने भएमा दुबै पक्षको आपस सहमतिमा थपघट तथा संसोधन गर्न सकिने
दुबै पक्ष उपयुक्त शर्त बन्देहरू परिपालना गर्ने कुरामा प्रतिबद्ध भएको उल्लेख गर्ने
यदि केही गरी कुनै एक पक्षले उक्त शर्त वन्देजहरू पूरा नगरी अर्को पक्षलाई मर्का पर्न गएमा मर्का पर्ने पक्षले मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ५ बमोजिम आफ्नो हक प्रचलन गराउन कानूनी मार्ग अवलम्वन गर्न सक्ने कुरामा दुवै पक्षले सहमति गर्ने
सम्झौपतापत्रको अन्तिममा प्रथम पक्ष र दोस्रो पक्षको तीन पुस्ते खुल्ने गरी नाम उल्लेख गरेर हस्ताक्षर वा औंठाछाप लगाउने
करारका दुवै पक्षले भने बमोजिम मस्यौदा गरी कम्प्युटर टाईप गराएको ठिक छ भनेर मस्यौदाकार (करारनामा/सम्झौतापत्र लेख्ने) ले हस्ताक्षर गर्ने
घरधनीको दायित्व
घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ।
१) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनुपर्ने
२) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा बिजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नुपर्ने
३) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्ने
४) सम्झौतामा उल्लेखित अन्य कुराहरू पालना गर्ने।
बहालमा लिने व्यक्तिको दायित्व
बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ।
निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्ने
बहालमा लिएको घर आफ्नो घर सरह मानेर सरसफाई, उचित र मनासिव तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नुपर्ने
आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने
सम्झौतामा उल्लेखित अन्य कुराहरू पालना गर्ने
बहालमा लिएको घर छाड्न सक्ने अवस्था
बहालमा लिने व्यक्तिले देहायका कुनै पनि अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछ।
घरधनीले आफ्नो दायित्व पूरा नगरेमा
जुन प्रयोजनको लागि घर बहालमा लिएको त्यस्तो कामको लागि निजलाई घर नचाहिने भएमा
घरधनीले सम्झौता विपरित काम गरेमा