काठमाडौँ। हामीले घर बनाउँन गारो (पर्खाल) चाहिन्छ भन्ने बुझेका छौं। तर पर्खालको किसिम के–के हुन्, कसरी बनाइन्छ, कसरी फिनिसिङ गरिन्छ भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ।
यो लेखमा हामीले घरको गारो अर्थात पर्खालको विषयमा उल्लेख गर्ने छौं।
पर्खालका किसिमः
विशेषगरी संरचनागत बनावटअनुसार पर्खाल दुई किसिमका हुन्छन्।
एउटा, घरको भार थाम्ने (लोड बेयरिङ वाल)।
अर्को, घरका कोठा छुट्याउन लगाइने (नन लोड बेयरिङ वाल)।
पहिले हामी भार थाम्ने गारोबारे बुझौं।
कुनै घर इँटा, ढुंगा वा एएसी ब्लकबाट बनेको छ, तर पिलर राखिएको छैन भने उक्त घरको सबै भार पर्खालमा पर्छ। यस्तो पर्खाल बलियो बनाउनुपर्छ र यसैलाई लोड बेयरिङ वाल भनिन्छ।
सबै घर पिलर राखेरै बनाइन्छ भन्ने हुँदैन। घर बनाउने स्थान, के प्रयोजनका लागि बनाइने, कत्रो बनाउने भन्ने आधारमा पर्खालको संरचना फरक पर्छ र पिलर नभएका बन्ने घरको सबै भार पर्खालमा पर्छ। त्यसैले पर्खाल धान्ने क्षमताको बनाउनुपर्छ।
यस्तो किसिमको गारो एकै ढिक्कामा बनेको हुन्छ। यसले नै छानोको भार पनि थाम्छ। एक तलाभन्दा बढीको घर भए, तला छुट्याउन गारोमाथि सिमेन्टको पिलरजस्तै मोटो तेर्सो स्ल्याब राखिन्छ।
लोड बेयरिङ वाल बनाएपछि भित्तोका कुनै एक भाग भत्काउँछु भन्दा मिल्दैन। किनकी छाना र चारैतिरका गारोसँग जोडिएर यो बलियो भएको हुन्छ। एक कुना भत्काए सबै संरचना कमजोर बन्छ। भत्किन पनि सक्छ।
यस्तो पर्खाल मोटो बनाइएको हुन्छ। लोड बेयरिङ वाल राखेर घर बनाउँदै सबैतिरको गारो समान रूपमा उठाउँदै जानुपर्छ। एकातिरको बनाइसकेर, अर्कोतिरको बनाउन उपयुक्त हुँदैन।
यसबारे अझै धेरै जानकारीका लागि घर बनाउनुपूर्व इञ्जिनियर वा प्राविधिकसँग सम्पर्क गर्नुपर्दछ।
लोड बेयरिङ वालको प्रतीकात्मक तस्बिर
त्यस्तै अर्को हो नन लोड बेयरिङ वाल।
यो भने पिलर राखिएको घरमा, कोठाहरू छुट्याउन लगाइन्छ। कंक्रिट घरका सबै पिलर उठाइसकेपछि मात्रै यस्तो गारो लगाए पुग्छ। पर्खाल लगाउनु अगावै पिलर राखेर ढलान पनि गरिन्छ। अनि मात्र आवश्यकताअनुसार कोठा छुट्याउन सकिन्छ।
यो पर्खाल पातलो वा मोटो, जस्तो लगाए पनि फरक पर्दैन। यसमा घरको भार नपर्ने हुँदा भित्री भागमा इँटा, प्लाइवुड, सिसा वा आलुमिनियम जस्ता जुनसुकै सामग्रीको लगाउन मिल्छ।
यस्तो गारो भत्काउन पनि समस्या हुँदैन। घरको भार पिलरमा हुने भएकाले त्यसको फ्रेमभित्र पर्ने पर्खाल सजिलै भत्काएर कोठा फराकिलो पार्न वा अरू सामानको गारो लगाउन पनि सकिन्छ। एउटा मात्र वा सबै भित्ता फोरेर नयाँ लगाउन पनि सकिन्छ।
नन लोड बेयरिङ वाल लगाउन सकिने घरको प्रतीकात्मक तस्बिर
पर्खालमा इन्सुलेन आवश्यकः
पर्खाल लगाउनु भनेको इँटा र सिमेन्ट जोड्नु मात्र होइन। पर्खालले दुई कोठा छुट्याउनुका साथै तापक्रम सन्तुलन राख्ने र आवाज बाहिरभित्र आउन नदिने पनि काम गर्छ। यसका निम्ति पर्खालमा इन्सुलेसन राख्न जरूरी हुन्छ।
इन्सुलेसन भनेको पर्खालमा प्लास्टर गर्नुअघि वा दुई तहको इँटा राखिएको भए बीचमा राखिने एउटा बोर्ड हो। यो फम, कंक्रिट, विशेष प्रकारको सिसा वा कपडा लगायत विभिन्न सामानबाट बनेको हुन सक्छ।
बजारमा विभिन्न खाले इन्सुलेसन पाइन्छ। प्रायःजसो तापक्रम र आवाज नियन्त्रणका लागि एउटै इन्सुलेसनले काम गर्ने गर्दछ। यसका निम्ति आफूलाई कस्तो आवश्यक हो भनेर घर बनाउनुपूर्व इञ्जिनियरसँग सल्लाह लिनुपर्दछ।
सामान्यतया बाहिरी गारो मोटो बनाइने हुनाले हामीकहाँ इन्सुलेसन राख्ने चलन छैन। धेरैले घरभित्रैका कोठाहरू छुट्याउँदा पनि यसमा त्यति ध्यान नदिने गैरे बताउँछन्। तर काठमाडौँजस्तो बाक्लो र घना ठाउँमा बनाइने घरका गारोमा इन्सुलेसनको महत्व अझै बढी हुन्छ।
गारोमा लगाइने इन्सुलेसनको प्रतीकात्मक तस्बिर
पर्खाल फिनिसिङः
पर्खाल लगाइसकेपछि पहिले त प्लास्टर नै गरिन्छ। सामान्यतया आधा इन्चदेखि एक इन्चसम्मको प्लास्टर लगाउने गरिन्छ। इँटाहरू नमिलेका छन् भने प्लास्टर अझै मोटो गर्नुपर्छ।
भित्री गारोको प्लास्टर र बाहिरी गारोको प्लास्टरमा केही भिन्नता भने हुन्छ।
बाहिरी प्लास्टरमा सिमेन्ट र बालुवाको मिश्रण १ः४ को अनुपातमा हुन्छ भने, भित्री प्लास्टरमा १ः६ को अनुपातमा मिश्रण तयार पार्न सकिन्छ। हावा, पानी, तापक्रम आदि कारण बाहिरी प्लास्टरमा खराबी आउन सक्छ। त्यसैले यो बलियो हुनु जरुरी छ।
प्लास्टरपछि पुटिङ लगाउने काम हुन्छ। पुटिङ भित्तामा रङ लगाउनु पहिले नै लगाउने गरिन्छ। पुटिङ भनेको सेतो सिमेन्टको मसिनो धूलो हो। यसलाई पानीको मिश्रणमा मस्याइलो बनाइन्छ र गारोमा एकनासले पातलो तहमा लगाइन्छ।
खासगरी पानी रसाउन सक्ने सम्भावना भएको ठाउँमा पुटिङ लगाउनुपर्छ। यसले भित्तामा आउन सक्ने चिरा पनि कम गर्न सहयोग गर्छ। राम्रोसँग पुटिङ गरिसकेपछि प्राइमर लगाउनु पर्छ। यसपछि रङ पनि लगाउन सकिन्छ।
पुटिङको प्रतीकात्मक तस्बिर
पर्खालमा रङः
बजारमा ए, बी र सी ग्रेडका रङ पाइन्छन्। ए ग्रेडलाई धेरै राम्रो मानिन्छ। तर सी ग्रेडको रङ लगाउनै नहुने भन्ने होइन। कस्तो रङ प्रयोग गर्ने, घर निर्माणमा छुट्याइएको बजेटमा भर पर्दछ।
भित्ताको अवस्था सुख्खा वा पानी नरसाउने किसिमको भए सिधै रङ वा वालपेपर पनि लगाउन सकिन्छ भने बाथरूम वा ओसिलो सतह, पाइपलाइन भएको ठाउँमा फिनिसिङ गर्दा वाटर प्रुफिङपछि मात्रै रङ वा वालपेपर लगाउनु राम्रो मानिन्छ।
रङ लगाउँदा सामान्यतया एउटा कुरामा ध्यान दिन जरूरी छ वार्म कलर लगाउने कि कूल कलर। रातो, पहेँलो, सुन्तले आदि वार्म कलर हुन्। यस्तो रङ चिसो, जाडो ठाउँमा प्रयोग गरिन्छ।
त्यस्तै निलो, खरानी वा अरू गाढा रङ लगायत कूल कलरमा पर्छन्। गर्मी ठाउँमा यी रङ बढी प्रयोगमा ल्याइएको हुन्छ भने सेतो भने सदावहार रङ हो।
पूरै घरमा एउटै रङ प्रयोग गर्दा भने कम खर्चिलो हुन्छ र घरको गारो फिनिसिङ गर्न सकिन्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar