काठमाडौँ। बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा ऐतिहासिक पौराणिक हरिबोधनी एकादशी रात्रि मेला मङ्गलबार साँझबाट सुरू भएको छ।
हरिबोधनी एकादशीका अवसरमा लालपुरस्थित खुला मैदानमा तुलसी विवाह विशेष पूजाआजा गरी साँझ एकादशी मेलाको औपचारिक रूपमा शुभारम्भ भएको गाउँपालिकाले जनाकारी दिएको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हरिबोधिनी एकादशी रात्रि मेला परम्परागत रूपमा वर्षैदेखि लाग्दै आएको छ। विगतमा बर्दियाको बाँसगढी नगरपालिकाअन्तर्गत पर्ने महादेवा गाउँमा लाग्दै आएको एकादशी मेला करिब दुई दशकदेखि मानखोला बारी बाँकेको बैजनाथ–६ लालपुरस्थित खुला क्षेत्रमा लाग्दै आएको हो। वडा कार्यालयको संरक्षकत्वमा हुँदै आएको मेलाको व्यवस्थापन स्थानीय न्यू जर्नी युवा क्लबले गरेको छ।
मेलामा परम्परागत सांस्कृतिक तथा मौलिक नृत्य, झाँकीहरू, मनोरञ्जनका रमाइला खेलहरू, व्यापारिक स्टल रहने आयोजक तथा व्यवस्थापनको जिम्मा लिएको न्यू जर्नी युवा क्लबले जानकारी दिएको छ।
साँझ पख सुरू भएर रातभर सञ्चालन हुने लालपुर एकादशी मेलामा बाँके र बर्दिया जिल्लाका टाढाटाढाबाट सर्वसाधारण आउने गर्दछन्।
परापौराणिक कालदेखि महादेवा मेलाका रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारू झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने गरेका छन्। मेला बुधवार दिउँसो १२ बजेसम्म निरन्तर सञ्चालन हुने निवर्तमान अध्यक्ष रूचालले जानकारी दिए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar