विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू फेरि सडकमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरिएको छ।

देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएर शिक्षा ऐन जारी गर्न दबाब दिन सडकमा आएका हुन्। उनीहरूले माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। महासंघले यसअघि सरकारसँग भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको हो।

महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। शिक्षकहरू २०८० मा सरकारसँग भएको सहमति कार्यान्वयन गर्दै शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै आएका छन्।

यता, आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले पटक–पटक सम्झौता भएका मुद्दाहरू कार्यान्वयन नगर्नु श्रमजीवी वर्गप्रति राज्यको नकारात्मक दृष्टिकोण भएको आरोप लगाए।

"राजनीतिक दलहरू श्रमजीवी वर्गप्रति अनुदार भएको कारण शिक्षक साथीहरू फेरि आन्दोलनमा उत्रन बाध्य भएका छन्। त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नुपर्छ भन्ने ट्रेड युनियन कांग्रेसको धारणा छ," उनले भने।

शिक्षकहरूको निरन्तर आन्दोलनसँगै शिक्षा ऐन छिट्टै जारी हुने कि आन्दोलन अझै चर्किने भन्ने विषयमा चासो बढेको छ।

प्रतिक्रिया