काठमाडौँ। आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ। उक्त रकम गत आ.व. २०८०/८१ को सोही अवधिको तुलनामा ८ दशमलव २६ प्रतिशतले बढी हो।
कार्यालयको तथ्याङ्कअनुसार गत आ.व. २०८०/८१ को (साउन-चैत) महिनामा २ अर्ब १७ करोड १९ लाख ३ हजार राजस्व संकलन भएको देखिन्छ। कार्यालयले चालु आ. व. २०८१/८२ मा ४ अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ।
गत आ.व.को भन्दा राजस्व संकलन बढेको भए पनि चालु आ.व.को ९ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयले ९ महिनामा आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार, ब्याजबापत ७ करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख ९ हजार, अन्तःशुल्क बापत रू ३९ करोड ९७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ।
यसैगरी, आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख असुल गरिएको कार्यालयले जानकारी दिएको छ। ‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी समेत गरिरहेको छ। यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानूनी कारबाही पनि गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar